उडान स्थगित भएपछि परदेशी भन्छन् : सरकार अब खाडीको सडकमै कति दिन बस्नु ?

270

यूएईमा रहेका गुल्मीका सन्देश पन्त सोमबार हतारहतार दुबई विमानस्थल पुग्नुभयो ।

एकतिर घर फर्कन पाउँदाको खुसी, अर्कोतिर विमानस्थलमा पनि अध्यागमन प्रक्रिया पनि पूरा गर्नुपर्ने । ढिला गर्दा जहाज छुट्ला भन्ने पीर पनि थियो । हतार हतारमै उहाँले विमानस्थलको सबै प्रक्रिया पूरा गर्नुभयो । तर अन्तिम समयमा विमानस्थलमा पुगेका सन्देशसहित उहाँका साथीलाई छाडेर जहाज रित्तै नेपाल फर्कियो । सन्देश हेरेको हेर्यै हुनुभयो ।

अत्यास बढ्यो । कहाँ जाने, के गर्ने मुटु ढक्क फुल्यो । साथमा जम्माजम्मी ५० दिर्हाम थियो । पाँच महिनादेखि बेरोजगार भएर बस्नुभएका सन्देशले टिकट पनि निकै दुःखका साथ काट्नुभएको थियो ।

अब के गर्ने ? बसिरहेको कोठामा कसरी फर्कने ? कोठामा त बसौंला, तर के खाने ? घर फर्कन जहाज छैन बसेकै ठाउँमा फर्कौं भने कम्पनीले क्यान्सिल लिइसकेको छ । अब कहाँ बस्ने ? सडकमा या कसैको शरणमा । यो महामारीको समयमा शरण पनि कस्ले देला ?

सन्देश भन्नुहुन्छ, ‘अहिलेसम्म बाटोमै छु, अब कहाँ जाने भनेर सोच्न सकेको छैन ।’

कोरोनाको जोखिम बढेपछि सरकारले गएको चैतदेखि अन्तर्राष्ट्रिय उडानहरु रोक्यो । उडान रोकिंदा खाडीका देश र मलेसियासहित संसारका विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कन पाएनन् । केही समय त जसोतसो समस्यासँग जुुधे । कतिलाई कोरोना सङ्क्रमण भयो । कोरोनालाई जिते । कतिको रोजगारी गुम्यो । खानबस्नकै समस्या भयो ।

कतिपय महिनौंपछि काममा फर्किए त कतिपय सरकारले जेठ ३२ गतेदेखि स्वदेश फिर्तीका लागि सञ्चालन गरेको उद्धार उडानमार्फत आफैं टिकटको जोहो गरेर भए पनि घर फर्किए । टिकट महंगो भए पनि उडानहरु भएकै थियो । समस्यामा परेर घर फर्कने दिन कुरिरहेकाहरुमा एक दिन त जहाज चढेर घर फर्कने पालो आउला भन्ने आश बाँकी नै थियो ।

सरकारले यही बीचमा दिनमा पाँच सय जनाको मात्रै उद्धार गर्ने निर्णय गर्‍यो । घर फर्कन नपाएकाहरु निराश भए । तर सोमबार साँझ एकाएक उद्धार उडान स्थगित गर्ने सरकारको निर्णयले यूएईको दुबई विमानस्थलमा पुगेका सन्देशजस्ता धेरै नेपाली श्रमिक अलपत्र परे भने घर फर्कन झोला ठिक्क पारेर टिकट काटिसकेकाहरु झन् तनावमा परेका छन् ।

यूएईबाटै हरि गौतम भन्नुहुन्छ, ‘हामी धेरै समस्यामा छौं, पाँच महिना भयो परदेशी भूमिमा तड्पिएर बसेका छौं ।’

हरिले घर जाने दिन कुर्न थालेको पाँच महिना भयो । सरकारले पाँचौं चरणको उद्धार उडान तालिका सार्वजनिक गरेपछि उहाँमा घर फर्कन पाउने आश पलाएको थियो । तर हिजो सोमबार अब अनिश्चितकालका लागि उडान रोकिएको खबरले अत्यास बढेको छ ।

‘कहिलेसम्म यसरी बस्नु, ऋण यसै छ, खेतबारी बेचेर पनि तिरौंला भन्ने छ, तर यसरी परदेशमा बस्दाबस्दा सास यतै गयो भने जिम्मेवारी कसले लिन्छ सरकार ?’ हरि प्रश्न गर्नुहुन्छ ।

हरि यूएई पुगेको पाँच महिनामै कोरोनाले छोप्यो । काम गुम्यो । कमाइ पनि भएन । खानका लागि पनि विभिन्न नेपाली समुदायसँग गुहार माग्नु पर्‍यो । अब कति दिन यसरी बस्ने ? हरिलाई हिजोआज मानसिक तनाव हुन थालेको छ ।
‘विदेशमा कमाएर पूरा गर्न साँचेका सपना त पूरा भएन, सरकार अब जिउँदै जहाज चढेर घर आउन पाइयोस्,’ उहाँ सरकारसँग आग्रह गर्नुहुन्छ ।

सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने भने पनि अहिलेसम्म जसको साथमा पैसा छ, जसलाई कम्पनीले टिकट दिएको छ, उनीहरु मात्रै फर्किएका छन् । समस्यामा परेका र आफैं टिकट काट्न नसक्नेहरु अझै पनि खाडी र मलेसियामा रोकिएका छन् ।

उनीहरुको निःशुल्क उद्धारका लागि वैदेशिक रोजगार बोर्ड कल्याणकारी कोषको रकम प्रयोग गर्ने भनिए पनि अहिलेसम्म उद्धार नथालिनु र भइरहेका उडान पनि रोकिनुले घर फर्कन ठिक्क परेका नेपालीलाई तनावमाथि तनाव थपिएको छ ।

मलेसियामा समस्यामा पर्नुभएका रामेछापका खेम थापा भन्नुहुन्छ, ‘एक दिन त फर्कन पाइन्छ होला भन्ने आश थियो, अब सरकारले उडान रोकेपछि झन पालो कहिले आउला ?’

खेमसँग साथमा एक रुपैयाँ पनि छैन । मंहगो टिकट काट्नु त परको कुरा खान पनि एनआरएनए लगायत नेपाली समुदायको सहयोग लिइरहनुभएको छ । रोजगारी गुमाएर घर फर्कन नसकेकालाई मलेसियामा रहेको नेपाली दूतावासले फारम भर्न अनुरोध गरेपछि उहाँले फारम पनि भर्नुभएको छ । अब त फर्कने दिन आउला भन्दै कुरिरहेकै बेला उडान रोकिएपछि उहाँको मनको बाँध फुटेको छ ।

‘परदेशमा रुनु न हाँस्नु, अब त तनाबले पागल हुन मात्र बाँकी छ,’ खेम भन्नुहुन्छ । मलेसियामा राजकुमार थापा घर फर्कने पालो कुरिरहेका दुई महिना हुन लाग्यो । करार अवधि सकिएपछि उहाँलाई जसरी पनि घर फर्कनै पर्ने छ । चार्टर्ड उडानमार्फत आफूभन्दा समस्याा रहेका साथीहरु फर्किइरहेका छन् भनेर चित्त बुझाएका राजकुमार अब भने आत्तिन थाल्नुभएको छ ।

भन्नुहुन्छ, ‘सरकारको यो निर्णयले साह्रै नै ठेस पुर्‍याएको छ, थाहा छैन कहिलेसम्म कुर्नुपर्ने हो, कसरी पो यहाँ बस्ने हो ?’

शिव हुमागाईंले भने मलेसियाबाटै फर्कन आफ्नै खर्चमा कोरोना जाँचसमेत गर्नुभएको थियो भने टिकट पनि काटिसक्नुभएको थियो । बुधबार बिहान नेपाल फर्कने उहाँको टिकट थियो । तर अब के होला उहाँले सोच्न सक्नुभएको छैन ।

उहाँको प्रश्न छ, ‘होटल त काठमाण्डौभरी छन्, सकारले किन होटल पनि खाली भएनन्, क्वरेण्टीन भएन भनेको ? स्पष्ट जवाफ चाहियो ।’

कतारबाट नारायण सिंह भन्नुहुन्छ, ‘सरकारले अर्को कुनै विकल्प दिएर निर्णय लिनुपर्ने थियो, अब यसको क्षतिपूर्ति कसले लिन्छ ?’ कुवेतबाट घर फर्कन ठिक्क पर्नुभएका खड्कबहादुर सुनारलाई पनि सरकारले उडान स्थगित गरेपछि तनाव बढेको छ ।

टिकट काटेर घर फर्कने तयारी गरिरहेकै बेला उडान नहुने खबरपछि के खाने भन्ने चिन्ता भएको छ खड्गबहादुरलाई । ‘उडान त रोकियो, अहिले काटेको टिकटमा पछि जान पनि पाइएला, तर यहाँ बसेर के खाने त सरकार ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।

अब फेरि अर्को उडान हुँदा कोरोना जाँच पनि फेरि गर्नुपर्छ । अहिलेको खर्च खेर जान्छ । उहाँ भन्नुहुन्छ, ‘कम्पनीले फर्केर हेर्दैन, जसोतसो ऋण काढेर टिकट काटियो अब के गरौं, कुनै निकास त दिन पर्‍यो नि ।’
विना काम महिनौंसम्म परदेशमा थुनिनु ।

महामारीको समय अनि घर फर्कन पनि नपाउनु । अहिले धेरै परदेशी तनाव र समस्यामा छन् । खड्गबहादुर भन्नुहुन्छ, ‘कोरोनाले मरे पनि आफ्नै देशमा मरौंला भन्ने थियो, किन यस्तो पाप गरेको सरकार ? कि मार कि नेपाल फर्कन देउ ।’
‘परदेशमा समस्यामा परेका आफ्ना नागरिकलाई होटलमा बस्न मानेनन्, क्वरेण्टीनको व्यवस्था छैन भनेर परदेशमा बिचल्लीमा पार्नु कहाँको कानुन हो ?’ उहाँ प्रश्न गर्नुहुन्छ ।

Leave A Reply

Your email address will not be published.