नेपाल बाल संगठन डोटीको जिल्ला सभा सम्पन्न
प्रेम नेपाली/असोज २२, डोटी ।
नेपाल बाल संगठन जिल्ला कार्यसमिति डोटीको जिल्ला सभा सम्पन्न भएको छ । विभिन्न सरोकारवाला निकाय तथा ब्यक्तिहरुको सहभागितामा सिलगढीको शैलेश्वरी गेस्ट हाउसमा सभा सम्पन्न भएको संगठनका अध्यक्ष बन्दना राजभण्डारीले जानकारी दिइन् ।
वि.स.२०२१ सालमा स्थापना भएको यो संगठनको डोटी शाखा २०३२ सालमा स्थापना भइ २०३८ सालमा रानी ऐश्वर्य राज्य लक्ष्मी देवि शाहले डोटी जिल्लाको सिलगढीमा बाल मन्दिरको समुदघाटन गरेकी थिइन् ।
यसरी हेर्दा २०३४ देखि ०८२ सम्म आईपुग्दा नेपाल बाल संगठन डोटीले आफ्नो हाता भित्र भवन निर्माण गरि बाल मन्दिर संचालन तथा घर भडामा दिएको अध्यक्ष राजभण्डारीले बताइन् ।
तर अहिले भवन पुरानो एवं जिर्ण भएको र आर्थिक अभावका कारण मर्मत सम्भार गर्न नसकिएको उनको भनाई रहेको थियो ।
यो पूरानो संगठन भए पनि बालबालिका सम्बन्धि काम गर्ने जिल्लामा कृयाशिल संघ संस्था तथा सरोकारवाला निकायको आवश्यक सहयोग नपाएको राजभण्डारीले गुनासो गरिन ।
जिल्ला सभामा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बालबालिकाको क्षेत्रमा काम गर्न आउने जो कोहिलाई सके जति सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाली बालबालिकाहरुलाई सुयोग्य, सक्षम, नैतिकवान तथा चरित्रवान बनाई उनिहरुको सर्वाङ्गिण विकास गर्ने, बालबालिकाको हकहित कल्याणको लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने जस्ता उद्धेश्य बोकेको यो संगठनले लामो समयसम्म डोटी जिल्लामा कुनै गतिविधि गर्न सकेको भने देखिदैन ।
यसैबीच उक्त सभामा भदौ ३० गते दिपायलमा झुलङ्गे पुलबाट सेती नदिमा हाम फालेर आत्महत्या गरेकी नेपाल बाल संगठन डोटीका साधारण सदस्य सिलगढी नाचन्थलीकी प्रियङ्का श्रेष्ठको फोटोमा माल्यार्पण गरी मौनधारण सहित शोक ब्यक्त गरिएको थियो ।