नेकपा र प्रेस संगठनद्वारा झण्डा ओढाएर सम्मान सहित पत्रकार देवलको अन्तिम सँस्कार सम्पन्न

905

मंसिर २, डोटी ।

क्यान्सरका कारण हिजो तिहारकै दिन निधन भएका डोटीका पत्रकार मुकेश देवलको मंगलबार अन्तिम सँस्कार गरिएको छ ।
नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य नारद मलासी र नेकपा डोटीकी नेतृ एवं दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले नेकपाको झण्डा ओढाएर सम्मान दिएका छन् । त्यस्तै साविकको प्रेस चौतारी नेपाल डोटीका सह–सचिव समेत रहेका पत्रकार देवलको पार्थिव शरीरमा प्रेस संगठन नेपालका केन्द्रिय लेखा आयोग सदस्य झलक पाली, प्रदेश सदस्यहरु बिमल बिष्ट, डिल बहादुर सिंह, लोकश अधिकारी, जिल्ला संयोजक कर्ण चन्द लगाएतले संगठनको झण्डा ओढाएर अन्तिम बिदाई गरेका छन् ।
गएको बैशाख महिनामा बायाँ खुट्टामा एक्कासी दुःख्न थालेपछि उनी धनगढीको सेती अञ्चल अस्पताल, नव जीवन अस्पताल, बाँकेको कोहलपुर मेडिकल कलेज, काठमाण्डौको विर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचार गराएका थिए ।
गत वर्ष बाइक दुर्घटनामा परेका उनलाई ठूलै घाउचोट नलागेको भए पनि गएको बैशाख महिनामा एक्कासी खुट्टा दुःखेपछि उपचार गराउँदै जाँदा क्यान्सर नै देखिएको उनले बताउने गरेका थिए ।
डोटीको दिपायल सिलगढी नगरपालिका ५ बसपार्क घर भएका पत्रकार देवललाई यस वर्षको दशैंमा जन्मघर ल्याईएको थियो ।
लामो समयदेखि थला परेका देवलले पछिल्ला ४/५ दिनदेखि केहि पनि खानेकुरा नखाएको भएता पनि सोमबार भाइटिका समेत थाप्न भ्याएको उनका आफन्तजनले बताएका छन् ।
दिउँसो एक्कासी स्वाशप्रस्वाशमा समस्या आएपछि जिल्ला अस्पताल डोटी पुर्याउँदा उनले प्राण त्याग गरिसकेका थिए ।
परिवार श्रोतका अनुसार ३३ वर्षका भनेता पनि उनले आफुलाई २९ वर्ष भएको केहि समय पहिलेको फोन सम्पर्कमा बताएका थिए । देवल गर्भमै छँदा धनगढीबाट डोटी फर्कने क्रममा उनका बुबाको डडेल्धुराको भात्काँडा नजिकै ट्रक दुर्घटनामा परी मृत्यु भएको थियो ।
कलिलै उमेरमा श्रीमान गुमाएकी उनकी आमा हिरादेवी देवलले माइतीको साहारामा छोराको पालनपोषण गरी हुर्काएकी थिइन् ।
पत्रकार देवलको जीवनमा अक्सर दुःखद क्षण नै आइलागे । उनि ८/९ वर्षको छँदा गोमन सर्पले टोक्दा काँधबाटै दायाँ हात पनि काट्नु परेको थियो ।
पछिल्लो समयमा कैलालीको धनगढीमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका देवललाई उनको मामाको घरमा भाडामा बस्ने एक व्यक्तिले साइबर क्राइम मुद्दा लगाईदिएर ११ महिना जेल समेत भोग्नुपर्यो । तर गत फाल्गुन महिनामा उनी निर्दोष सफाई पाएर जेलमुक्त भएका थिए ।
कैलालीको मर्निङ बेल दैनिक, डोटीको नजर नेपाली साप्ताहिक लगाएत मिडियामा काम गरेका पत्रकार देवल नेपाल पत्रकार महासंघ डोटीका साधारण सदस्य पनि थिए ।
उनले लामो समयसम्म सम विकास केन्द्र (इडिसि) नेपाल डोटीमा पनि काम गरेका थिए ।

Image may contain: Mukesh Dewal
सुदूरपश्चिमेली डेउडा र आधुनिक गीतका गायक एवं सर्जक समेत रहेका देवलका ‘दिल जले नि भित्रभित्रै’, ‘कोयली बाँचिर्यो पिपलु छायाँले’, ‘जुम्ला जाने दाइ’, ‘ढुङ्गा जस्तो मन’ लगाएतका उत्कृष्ट साँगितिक कोसेलीहरु बजारमा छन् ।
उनकी आमा, श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

Leave A Reply

Your email address will not be published.