शिरखोलीसैन सेती नदी लिफ्ट सिंचाई योजनाको शिलान्यास

पौष ३, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ शिरखोलीसैनमा सेती नदीबाट लिफ्ट सिंचाई योजनाको शुक्रबार शिलान्यास गरिएको छ । उक्त योजनाको दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासी र नेकपा डोटीका अध्यक्ष चक्र मल्लले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
नदीबाट करिब ५ सय ५० मिटर उचाईमा लिफ्टबाट पानी तानेर करिब १५ सय रोपनी जमीनमा सिंचाई सुविधा पुग्ने सो सिंचाई योजनाको लक्ष्य छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय राजपुरमार्फत निर्माण गरिने उक्त योजनाका लागि १ करोड ३० लाखको स्टिमेट रहेको छ । जस अन्तरगत चालु आर्थिक वर्षमा ६० लाख रकम बराबरको काम सम्पन्न गरिने र बाँकी रकम बराबरको काम आगामी आर्थिक वर्षमा पूरा गरिने शिरखोलीसैन सेती नदी लिफ्ट सिंचाई योजना जल उपभोक्ता समितिका उपाध्यक्ष लोग बहादुर बलायरले जानकारी दिए ।
उक्त सिंचाईं योजनाबाट शिरखोलीसैन गाउँका १ सय ६९ घरधुरीका करिब १ हजार ५ सय मानिहरु लाभान्वित हुने जनाईएको छ ।
शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मलासीले सिंचाई योजना निर्माण सम्पन्न गरी तरकारी खेतीलाई व्यवसायिक बनाउन स्थानीय बासिन्दालाई विशेष आग्रह गरिन् । स्थानीय किसानले व्यवसायिक तरकारी खेती गरेर उत्पादन बढाएमा नगरपालिकाबाट आगामी आर्थिक वर्षमा ५० लाख बजेट छुट्याएर शिरखोलीसैनलाई तरकारी पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता समेत जनाईन् ।
केहि समय लगत्तै दिपायलमा १० टन क्षमताको कोल्ड सेन्टरको पनि समुद्घाटन हुन लागेको भन्दै नगर प्रमूख मलासीले किसानले उत्पादन गरेको वस्तुहरु संकलन गर्न समस्या नहुने उनले बताईन् । साथै किसानहरुले व्यवसायिक उत्पादन बढाउँदै लगेको आफुले उत्पादन गरेका कृषि उपजहरु किसान आफैले बेच्न सक्ने गरी हाट बजार सञ्चालनका लागि पनि आफुले पहल गर्ने उनले बताईन् ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा डोटीका अध्यक्ष मल्लले शिरखोलीसैन गाउँका लागि शिलान्यास गरिएको सिंचाई योजना ठूलो अवसर भएको भन्दै सेती नदीको पानी स्थायी श्रोत भएकाले स्थानीयबासीले सागपात, फलफुल लगाएतका उत्पादन बढाएर स्वरोजगार बन्न तथा आयआर्जन बढाउनुपर्नेमा जोड दिए ।
शिरखोलीसैन गाउँ लगाएत सबै क्षेत्रमा नेकपाले जनताको आवश्यकताका आधारमा विकास निर्माणका काम गर्दै आएको भन्दै काम गर्ने पार्टीको पक्षमा एक भएर लाग्न आग्रह गरे । साथै कामै नगर्ने पार्टीको नाम लिएर मरेको लाशलाई ब्युँझाउन नहुने उनले बताए ।
त्यस्तै दिपायल सिलगढी नगरपालिकाका उपप्रमूख शिवराज खड्काले आफुहरुको पहलमा शिरखोलीसैनमा दीगो विकासको योजनाका रुपमा लिफ्ट सिंचाई योजनाको शिलान्यास भएकोमा खुशी व्यक्त गरे । नगरभित्रका हरेक क्षेत्रमा जनताको माग र आवश्यकतालाई मध्येनजर गर्दै हरेक विकासका कामलाई तिव्रता दिईएको खड्काले बताए ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बहादुर खड्काले आफु निर्वाचित भईसकेपछी सो गाउँमा शिक्षा, स्वास्थ्य, सडक, सिंचाईं, तटबन्धन, खानेपानीका क्षेत्रमा भईरहेका कामको स्मरण गराए ।
बिचमा सेती नदी भएका कारण राजमार्गसँग जोडिन नसकेको शिरखोलीसैन गाउँलाई तत्कालिन नेकपा एमालेबाट निर्वाचित दिपायल सिलगढी नगरपालिकाका मेयर पूर्णराज जोशीको पालामा वि.सं. २०५७ देखि २०६१ सालमा झोलुङ्गे पूल निर्माण भएपछि निकै सहज भएको थियो ।
शुक्रबार शिलान्यास भएको सिंचाई योजना पनि कम्यूनिष्ट सरकारबाट निर्माण भएको त्यस्तै दुरगामी प्रभाव पार्ने खालको दोश्रो योजना भएको स्थानीयबासिन्दाले प्रतिक्रिया दिएका छन् ।

केहि दिनभित्रै डिप बोरिङ्बाट खानेपानी निकाल्ने योजना पनि अगाडी बढाईने दिपायल सिलगढी नगरपालिकाले जनाएको छ । गत वर्ष नै योजना अगाडी बढाईएको भए पनि विश्वव्यापी महामारी कोरोना भाईरसका कारण रकम फ्रिज गएकोमा यस वर्ष फेरी खानेपानी योजनालाई प्राथमिकता दिएर काम गरिने जनाईएको छ ।
त्यस्तै सो गाउँमा निर्माणाधीन सामुदायिक स्वाथ्य इकाइको भवनलाई पूरा गर्न ८ लाख बजेट विनियोजन भईसकेको पनि नगरपालिकाले जनाएको छ ।
शिरखोलीसैन सेती नदी लिफ्ट सिंचाई योजना जल उपभोक्ता समितिका अध्यक्ष बम बहादुर साउँदको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा जनप्रतिनिधीहरु, पत्रकार र स्थानीयबासीन्दाहरुको सहभागिता रहेको थियो ।