डोटीमा खेलाडीहरुलाई जर्सी र खेल सामाग्री सहयोग
फाल्गुन २६, डोटी ।
डोटीमा बुधबार खेलाडीहरुलाई जर्सी र खेल सामाग्री सहयोग प्रदान गरिएको छ ।
भोलि फाल्गुन २७ गते महाशिवरात्री तथा सेना दिवसको अवसरमा रुद्रध्वज गण सिलगढीको आयोजनामा भईरहेको मैत्रीपूर्ण भलिबल प्रतियोगीता पूर्व डोटीको टिमलाई जर्सी वितरण गरिएको हो । त्यस्तै दिपायल सिलगढी नगरपालिकाले डोटीमा तेक्वान्दो खेलका खेलाडीहरुका लागि म्याट, किक प्याड लगाएतका सामाग्री प्रदान गरेको हो ।
डोटीको भलिबल टिमलाई टिम कोच तथा खेलाडी नरेश मलासीको पहलमा एडुपल नेपालले प्रदान गरेका जर्सीहरु टिम क्याप्टेन जनक खड्कालाई हस्तान्तरण गरिएको हो भने दिपायल सिलगढी नगरपालिकाले जिल्ला खेलकुद विकास समिति डोटीका कार्यालय प्रमूखलाई तेक्वान्दोका खेल सामाग्री हस्तान्तरण गरेको हो ।
सामाग्री हस्तान्तरण तथा खेलाडीको स्वागतपश्चात बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले कुनै कार्यक्रम विशेष मात्रै नभएर खेलाडीहरुले बाहै्र महिना खेलकुदलाई निरन्तरता दिनुपर्ने बताईन् । साथै डोटी जिल्लाको टिमले प्रतियोगिता जितेर आएमा आफुले पनि पुरुस्कार प्रदान गर्ने वचनवद्धता सहित खेलाडीहरुलाई उच्च मनोबलका साथ खेलमा सहभागिता जनाउन आग्रह गरिन् ।
डोटीको टिमलाई दिपायल सिलगढी नगरपालिकाको २० हजार, सायल गाउँपालिकाको १५ हजार, जोरायल गाउँपालिकाको १५ हजार र स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले १० हजार सहयोग गरेको टिम कोच नरेश मलासीले जानकारी दिए ।
सिलगढीको टुँडिखेलमा आज र भोलि दुइ दिने हुने मैत्रिपूर्ण भलिबलमा आयोजक नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीका ३ वटा विभागीय टिम र एउटा डोटी जिल्लाको टिम गरी ४ वटा टिमले प्रतिष्पर्धा गरिरहेका छन् । खेल नक आउट चरणमा खेलाईने जनाईएको छ ।



