वन मन्त्री आलेको पहलमा डोटीका लागि २२ थान अक्सिजन सिलिण्डर पुग्दै, निजि लगानीमा ७ थान अक्सिजन कन्सेन्ट्रेटर पनि पठाउने

1,268

झलक पाली
बैशाख ३०, डोटी ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेम आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिण्डर आउने भएको छ ।
कोरोना संक्रमित बिरामीको उपचारका लागि जिल्लामा आजको मितिमा जिल्ला अस्पतालमा भरिएको अक्सिजन सिलिण्डर मौजदाद शुन्य भएको अवस्थामा मन्त्री आलेको पहलमा २२ थान अक्सिजन सिलिण्डर आउने भएको हो ।
अक्सिजनको आपुर्तीमा समस्या भएपछि जिल्ला अस्पताल डोटीले मन्त्री आलेसँग सहयोगका लागि हिजो बुधबार अनुरोध गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्ण जोशीले बताए । त्यस लगत्तै मन्त्री आलेको पहलमा नेपालगञ्जबाट रिफिल गराएर १० थान अक्सिजन सिलिण्डर आज मात्रै बाटोमा ल्याउँदै गरेको र थप १२ वटा अक्सिजन सिलिण्डर ल्याउने प्रक्रियामा रहेको मे.सु.जोशीले नजर अनलाईनलाई बताए ।
जिल्ला अस्पताल डोटीसँग ठूलो ३० वटा र सानो १५ वटा अक्सिजन सिलिण्डर भए पनि रिफिल गराउने ठाउँ नपाउँदा समस्या रहेको छ ।
बैशाख महिनामा मात्रै जिल्ला अस्पतालमा ४० वटा सिलिण्डर खपत भएका छन् । आजको मितिमा सो अस्पतालमा आइसुलेशनमा रहेका ५ जनाले अक्सिजनको साहारा लिएर उपचार गराईरहेको अस्पताल श्रोतले जनाएको छ ।

मन्त्री आलेले ७ थान अक्सिजन कन्सेन्ट्रेटर पनि पठाउने
यसैबिच कोरोना संक्रमणका बिरामीको उपचार सहजताका लागि वन तथा वातावरण मन्त्री आलेको व्यक्तिगत सहयोगमा ७ थान अक्सिजन कन्सेन्ट्रेटर पनि पठाउन लागेको मन्त्री आलेले जानकारी दिएका छन् ।
नेपाल सरकारले आफुलाई कर्णाली प्रदेशमा कोभिड–१९ को फोकल मन्त्रीका रुपमा जिम्मेवारी दिएको भए पनि आफ्नो गृहजिल्लामा बिरामी उपचार सहजताका लागि पाएसम्म ७ वटा र नभए ५ वटा अक्सिजन कन्सेन्ट्रेटर जसरी पनि खोजेर पठाउने आफ्नो योजना रहेको मन्त्री आलेले बताए । पाँच लिटरको अक्सिजन कन्सेन्ट्रेटरको मूल्य १ लाख जति र दश लिटरको अक्सिजन कन्सेन्टेटरको मूल्य १ लाख ५० हजार जति पर्ने गर्दछ । विश्वव्यापी कोरोना महामारीबाट सुरक्षित रहन आम मानिसहरुमा मन्त्री आलेले विशेष आग्रह समेत गरेका छन् ।

जिल्ला अस्पतालको आरटिपीसिआर मेशिन बिग्रेर समस्या
जिल्ला अस्पताल डोटीमा रहेको आरटिपीसिआर मेशिन बिग्रँदा कोरोना स्वाव परीक्षणमा अफ्ठ्यारो भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष पठाएको जिल्ला अस्पतालमा जडान गरिएको आरटिपीसिआर परीक्षण गर्ने अटोमेटिक मेशिन बिग्रेकाले समस्या भएको हो ।
एकै पटकमा ९६ वटा सम्म स्वाव परीक्षण गर्न मिल्ने मेशिन बिग्रेपछि अहिले हातैले प्रयोग गर्ने म्यान्युअल एक्सटेन्शन किटको एकपटकमा ४० वटा स्वावको परीक्षण भईरहेको र एक दिनमा दुइ सिफ्ट गरेर ८० वटासम्म स्वाव परीक्षण भईरहेको जनाईएको छ ।
अस्पताल श्रोतका अनुसार उक्त मेशिनको १ वर्षको वारेण्टी कटिसकेकोले बिग्रेको मेशिन कम्पनीमै लगेर मर्मत गर्नुपर्ने भएको छ । यद्यपी हातले प्रयोग गर्ने म्यान्युअलबाट परीक्षणको काम भईरहेकाले मेशिन मर्मतका लागि पठाएर परीक्षणको काम पूर्ण रुपमा ठप्प हुनुभन्दा थोरै मात्रामा भए पनि काम चलिरहेको अस्पताल श्रोतले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष नै जिल्ला अस्पतालका लागि पठाएको भेन्टिलेटर प्रयोगविहिन छ । जनशक्ति अभावका कारण उक्त भेण्टिलेटर प्रयोगमा आउन नसकेको र जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिएको अस्पतालका मेसु जोशीले बताए ।
साथै पछिल्लो समयमा प्रदेश सरकारले अक्सिजन उत्पादन गर्न प्लान्ट मेशिन जडानका लागि ८० लाख रुपैंया विनियोजन गरेकोमा सोका लागि पनि प्रदेश सरकारबाटै खरीद गरी आपुर्ति गरिदिन अनुरोध गरेको उनले बताए ।

डोटीमा कोरोना संक्रमितको संख्या करिब २ हजार पुग्दै
स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमूख उद्धव बहादुर ठगुन्नाले दिएको जानकारी अनुसार डोटीमा कोरोना संक्रमितको कूल संख्या करिब २ हजार नजिक पुगेको छ । आज विहीबारसम्ममा कूल संक्रमित संख्या १ हजार ९ सय ४० जना पुगेको ठगुन्नाले जानकारी दिएका छन् ।
पछिल्लो चरणमा नयाँ भेरियन्टको कोरोना संक्रमणको लहर फैलिएको अवस्थामा बैशाख महिनामा मात्रै ५ सय १९ जना मानिसहरु डोटीमा संक्रमित भएको र त्यसमध्ये जिल्लाभित्रै ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।
दोश्रो चरणको कोरोना संक्रमण बढेपछि डोटीमा बैशाख २१ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञा पनि आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि लम्ब्याईएको छ ।
निषेधाज्ञाको प्रभावकारी पालना गर्न सकेमा, परीक्षणको दायरा बढाउन सकेमा र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सकेमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
जिल्लामा सबैभन्दा अभाव अक्सिजन सिलिण्डरको रहेको र एण्टिजेन किटको समेत अभाव रहेकाले यसको आपुर्तिमा सम्बन्धीत निकाय तथा सहयोगदाताको सहयोगको टड्कारो आवश्यकता रहेको छ ।

Leave A Reply

Your email address will not be published.