डोटीलाई मन्त्रीको लट्री : संघ र प्रदेशमा गरी ४ जना मन्त्री

686

जेठ १४, डोटी ।

डोटी जिल्लाले इतिहासमै पहिलोचोटी एकैसाथ ४ जना मन्त्री पाएको छ ।
संघीय सरकारमा नेकपा एमालेबाट वन तथा वातावरण मन्त्री प्रेम बहादुर आले, सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, नेकपा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज सहित डोटीले ४ जना मन्त्री एकैसाथ पाएको हो ।
ती चारै जना बामपन्थी हुन् ।
वि.सं. २०७४ मंसिर २१ मा सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट आले र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट भट्ट निर्वाचित भएका थिए । सो निर्वाचनमा एमाले र माओवादीबिच चुनावी गठबन्धन समेत रहेको थियो ।
निर्वाचनमा गठबन्धन गरेका दुइ दलले संघ र प्रदेशमा सरकार समेत संयुक्त रुपमा बनाए । प्रदेश सरकारमा दुइ दलबिच भागबन्डा भयो । जस अनुसार सुदूरपश्चिम प्रदेशको मूख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको भाग परेपछि त्रिलोचन भट्ट वि.सं. २०७४ फाल्गुन ३ गतेबाट अहिलेसम्म मूख्यमन्त्रीको जिम्मेवारीमा छन् ।
वि.सं. २०७५ जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच पार्टी एकता भई नेकपा गठन भयो । एकताले तल्लो तहसम्म पूर्णता नपाउँदै पार्टीभित्रको चरम किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुष ५ मा प्रतिनिधी सभा विघटन गरे । त्यसउछि सरकारका केहि मन्त्रीहरुले पदबाट राजीनामा दिएसँगै नेकपा एमालेबाट निर्वाचित प्रतिनिधी सभा सदस्य प्रेम आले पुस १० गते संघीय सरकारका वन तथा वातावरण मन्त्री बन्न सफल भए ।
पुस ५ मा भएको प्रतिनिधी सभा विघटन विरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको सुनुवाई गर्दै ०७७ फाल्गुन ११ मा प्रतिनिधी सभा पुनःस्थापना भयो । साथै एमाले र माओवादी एकताबाट बनेको नेकपा समेत ऋषी कट्टेलको अध्यक्षतामा निर्वाचन आयोगमा पहिल्यै दर्ता भैसकेकाले ०७७ फाल्गुन २३ मा सर्वाेच्चको फैसलाले एमाले र माओवादीलाई ब्युँताईदियो ।
यि विभिन्न घटनाक्रमका बिच प्रधानमन्त्री चयनका विषयमा नेपालको संविधान २०७२ को धारा ७६ अन्तरगत विभिन्न उपाधारा अवलम्बन गर्ने क्रममा २०७८ बैशाख २७ मा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिंदा अल्पमतमा परेपछि सबै मन्त्रीहरु स्वतः पदमुक्त भएका थिए । त्यसपश्चात बैशाख ३१ गते प्रधानमन्त्री ओलीले फेरी मन्त्रिपरिषद विस्तार गरे । जसमा प्रेम आलेले दोश्रो पटक वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
नेकपा एमालेको पार्टीवृत्तमा विवाद चरमोत्कर्षमा छ । जसका कारण आफ्नै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री विरुद्ध लागेको भन्दै एमाले बरिष्ठ नेता समेत रहेका माधव कुमार नेपाल सहित ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको छ । अन्य केहिलाई थप स्पष्टिकरण मागिएको छ ।
यसै क्रममा यहि जेठ १० गते एमालेले माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिईएको समर्थन फिर्ता लिएको थियो ।
एमालेबाट मन्त्रीहरुलाई फिर्ता बोलाईए पनि सुदूरपश्चिम प्रदेशमा माधव कुमार नेपाल पक्षधर सांसदहरु बढी रहेकाले प्रदेश सरकारलाई दिईएको समर्थन फिर्ता लिने पार्टीको निर्णय भने कार्यान्वयन हुन सकेन । फलस्वरुप सुदूरपश्चिम प्रदेश सरकारको शुक्रबार भएको मन्त्रीमण्डल विस्तारमा एमालेका डोटीबाट प्रतिनिधीत्व गर्ने समानुपातिक सांसद पूर्णा जोशी आन्तरिक मामिला तथा कानुन मन्त्री र सांसद अर्चना गहतराजले आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
यसरी डोटीले एकैसाथ ४ मन्त्री पाएर इतिहास रचेको छ ।
यद्यपी सुदूरपश्चिम प्रदेशका निवर्तमान मन्त्रीहरु आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि निर्णय विपरित गएको भन्दै पार्टीको साधारण सदस्य नरहने गरी कारवाही भएको छ ।
यस आधारमा शुक्रबार नवनियुक्त मन्त्री जोशी र राज्यमन्त्री गहतराजको पनि कार्यकाल सहज र लामो रहने भने देखिंदैन ।
जिल्लाले चार जना मन्त्री एकैसाथ पाउँदा डोटीले कति फाइदा लिन सक्दछ त्यो भने कार्यकाल पूरा भएपछि मात्रै थाहा हुनेछ ।

Leave A Reply

Your email address will not be published.