सर्वोच्चद्वारा संसद पुनःस्थापना, दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
असार २८, डोटी ।
सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । संसद पुनःस्थापनासङ्गै २ दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।
यस्तै आगामी साउन ३ गते संसदकाे अधिवेशन डाक्न आदेशमा भनिएकाे छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो ।
फैसलाको पूर्ण पाठ भने आउन बाँकी नै छ ।
गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिले सोही दिन गरेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग सहित सर्वोच्चमा रिट निवेदन परेको थियो ।