कुलमानको कार्यकाल थप्नेबारे प्रस्ताव नै थिएन, कसरी फैलियो हल्ला ?
‘लिखित रुपमा आज प्रस्ताव नै आएको छैन, प्रधानमन्त्रीबाट सिधै प्रस्ताव आएमा निर्णय हुन सक्थ्यो, उहाँको कार्यकाल अझै बाँकी छ तर विभागीय मन्त्रीले नै प्रस्ताव नल्याउनु भएकाले सिधै निर्णयको सम्भावना भएन’, एक मन्त्रीले उज्यालो अनलाइनसँग भने ।
कुलमान घिसिङको कार्यकाल भदौ २९ गते सकिँदैछ । भदौ २१ गतेअघि नै कार्यकाल सकिन लागेका अर्थ मन्त्री डाक्टर युवराज खतिवडाको निर्णय नगरेको सरकार २९ गते कार्यकाल सकिने घिसिङको कार्यकाल थप्ने हतारोमा छैन । हरेक हप्ता दुई वटा मन्त्रिपरिषद्का बैठक बस्छन्, यस हिसाबले २९ गतेसम्म ६ वटा मन्त्रिपरषद्का नियमित बैठक नै बस्ने छन् । ६ वटा बैठकअघि नै कुलमानको बारेमा नियुक्ति गर्न सरकारलाई कुनै हतारो नै देखिन्न ।
कसरी फैलियो हल्ला ?
यही भदौ २९ गते चार वर्षे कार्यकाल सकिन लागेका घिसिङलाई फेरि प्राधिकरणमै नेतृत्व दिनुपर्छ भन्ने आवाज बढ्दै गएको छ । सामाजिक सञ्जालमा पनि चर्को माग छ । हरिवंश आचार्य, मनोज गजुरेल, करिश्मा मानन्धरलगायतका कलाकारले सामाजिक सञ्जालबाटै कुलमानको कार्यकाल थप्न माग गरिरहेका थिए । मङ्गलबार दिउँसो यस्ता खबरले पनि निकै स्थान पाए ।
तर कुलमानलाई मन्त्रिपरिषद्ले दोहोर्याएकाे खबरको सुरु गरेका थिए हास्य कलाकार दीपकराज गिरीले । उनले फेसबुकमा लेखेका थिए, ‘आज बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई नै विद्युत् प्राधिकरणको प्रमुख पदमा निरन्तरता दिने निर्णय गरेको छ । सरकारसँग यस्तै आसयकाे समाचार प्रेसित गरेर जनताकै पक्षमा उभिनुकाे विकल्प छैन।’
दीपकराजको यो स्टाटस फैलिन समय लागेन । फेसबुकदेखि ट्विटरसम्म उनकै स्टाटस शेयर र स्क्रिनशर्टसहित फैलाउने काम भयो । दीपकराजकै स्टाटसलाई आधार मानेर सामाजिक सञ्जालमा कुलमानको नियुक्ति दोहोरिएको विषय भाइरल भयो । उनको स्टाटसमा ११ हजारभन्दा धेरैले लाइक गरेका छन्, ११ सय जनाको कमेन्ट रहेको छ ।
यस्तै ट्विटरमा कुलमान घिसिङको नक्कली ट्वीट ह्याण्डलबाट पनि यो विषय भाइरल बन्यो । नेकपाको विद्यार्थी सङ्गठनका सहसंयोजक रञ्जित तामाङले नै कुलमानको नक्कली ह्याण्डलबाट गरिएको ट्वीट रिट्वीट गरेर बधाई दिएका थिए । – उज्यालो अनलाइनबाट