छाउपडी प्रथा अब ‘कथा’ र ‘इतिहास’ बनोस् !
फाल्गुन १६, डोटी ।
सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अब ‘कथा’ र ‘इतिहास’ बन्नुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
बहुउद्धेश्यीय विकास समाज (एमपिडिएस) डडेल्धुराको आयोजनामा डोटीको पुर्वीचौकी गाउँपालिकामा शिक्षकहरुका लागि आइतबार र सोमबार आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी २ दिने अभिमूखिकरणका सहभागिहरुले यस्तो बताएका हुन् ।
अभिमुखिकरण समापन कार्यक्रममा मन्तव्य राख्दै पुर्वीचौकी गाउँपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत गगन भण्डारीले सामाजिक कुरीतिका रुपमा रहेको छाउपडी प्रथा अब ‘एउटा कथा’ र ‘इतिहास’का रुपमा सुन्न पाईयोस् भन्ने आफुले चाहेको बताए ।
उनले महिनावारीका विषयमा हामीले बुझेका छौं, तर व्यवहारमा कार्यान्वयन गर्दा अँझै पनि समस्या रहेकाले हामीले आफुबाट र आफ्नो घरपरिवारबाट यसमा सुधार गरी अबको पींढीले ‘कथा’ र ‘इतिहास’ जस्तो मात्रै महशुस गर्ने गरी लाग्नुपर्ने बताए ।
तुलनात्मक रुपमा विगतभन्दा पछिल्ला दिनहरुमा सुधार हुँदै गएको र अब पूरै सुधार हुनुपर्ने उनले जोड दिए ।
हाम्रो गाउँ समाजमा शिक्षकले विद्यार्थीलाई सिकाएका कुरा बढी प्रभावकारी हुने भएकाले महिनावारी बारे राम्रो ज्ञान दिन आवश्यक भएको भन्दै शिक्षकहरुलाई दिईएको तालिम निकै महत्वपूर्ण भएको पुर्विचौकी गाउँपालिका, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख विनोद भट्टले बताए ।
नेपाल सरकारले लिएको नीति अनुसार पुर्विचौकी गाउँपालिकाले पनि पछिल्ला तीन वर्षदेखि विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण गर्दै आईरहेको र महिनावारी हुने उमेर समूहका छात्राहरुका लागि निकै उपयोगी भएको भट्टले बताए ।
त्यस्तै महिनावारीको समयमा महिलाको स्वास्थ्य झनै संवेदनशील हुने भएकाले प्रथाजन्य गलत कुराहरुलाई चिर्दै राज्यका नीतिगत कुराहरुलाई कार्यान्वयनमा ल्याउनुपर्ने पुर्वीचौकी गाउँपालिका, स्वास्थ्य शाखा प्रमूख रामप्रसाद पाठकले बताए ।

शिक्षकहरुलाई महिनावारी स्वस्च्छता व्यवस्थापन सम्बन्धी निकै जीवनउपयोगी तालिम दिएकोमा एमपिडिएसलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रममा सहभागि शिक्षक भागरथी मडैले सेनिटरी प्याड डिस्पोजका लागि पनि विद्यालयहरुलाई सहयोग गर्नसके झनै उत्तम हुने बताईन् ।
प्रथाजन्य सामाजिक गलत व्यवहार परिवर्तन हुन समय लाग्ने भए पनि यस किसिमका अभिमूखिकरणले सचेतना फैलाउन निकै मद्दत पुग्ने र यस्ता कार्यक्रमहरुको निरन्तरता हुनुपर्ने मडैले जोड दिईन् ।
यस्तै अर्का शिक्षक सिताराम जोशीले महिनावारी उमेर समूहका विद्यालयमा रहेका किशोरीहरुसमक्ष महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी सचेतना फैलाउनु बढी आवश्यक रहेकोमा जोड दिए ।
महिनावारीप्रति समाजमा रहेका भ्रमहरु चिर्न, महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी ज्ञान, दृष्टिकोण र भैरहेका गलत अभ्यासमा सुधार ल्याउन, महिनावारी स्वच्छता व्यवस्थापनका सामाग्रिहरु विशेषतः सेनिटरी प्याडको सहि प्रयोग एवं उचित विर्सजनबारे सचेतना अभिवृद्धि गर्न, महिनावारीको समयमा सुरक्षित र स्वस्थ अभ्यासहरु अपनाउन किशोरी तथा महिलाहरुलाई आत्मविश्वासपूर्वक खुलस्त कुरा गर्ने वातावरण सिर्जना गर्ने उद्धेश्यले शिक्षकहरुलाई अभिमूखिकरण गरिएको हो ।
पुर्वीचौकी गाउँपालिकाभित्रका कक्षा ६ देखि १० सम्म पठनपाठन गराइरहेका विभिन्न सरकारी विद्यालयका स्वास्थ्य विषयका फोकल शिक्षकहरु सहभागि दुइ दिने अभिमुखिकरणमा एमपिडिएस डडेल्धुराका प्रोग्राम मेल म्यानेजर दिपकराज ओझाले सहजिकरण गरेका थिए ।

के.एफ.डब्लु.को आर्थिक सहयोगमा नेपाल सिआरएस कम्पनी र बहुउद्धेश्यीय विकास समाज डडेल्धुराको साझेदारीमा सुदूरपश्चिमका डोटी, डडेल्धुरा, बैतडी र बझाङ गरी ४ जिल्लाका ३८ वटा स्थानीय तहमा महिनावारी स्वच्छता व्यवस्थापन परियोजना लागु भैरहेको जनाईएको छ ।
परियोजनाले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी विद्यालयहरुमा सामाग्रीहरु समेत सहयोग गर्ने जनाईएको छ ।