“चुनाव अघि एकता सम्भव छैन, चुनावी माेर्चा बन्छ” – नेपाल
नवराज जोशी
साउन १४, डाेटी ।
नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत (समाजवादी) पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले चुनाव अघि पार्टी एकता सम्भव नभएकाे तर चुनावी माेर्चा बन्न सक्ने बताएका छन् ।
पार्टीकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि डाेटी पुगेका अध्यक्ष नेपालले समसामयिक विषयमा संचारकर्मीहरुसंग कुरा गर्नेक्रममा यस्ताे बताएका हुन् । अध्यक्ष नेपालले भने – “हामीले स्थानीय निर्वाचन हेरेका छाै, गठवन्धन भनेर मात्र हुदैन, सबै बफादार हुनुपर्छ । तर स्थानीय निर्वाचनमा त्यस्ताे देखिएन । अब आफ्नै खुट्टामा उभिने हाे, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हाे । चुनावी माेर्चा बन्न सक्छ, तर निर्वाचन अघि कुनै पनि पार्टीसंग एकता हुँदैन ।”
संचारकर्मीकाे प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले पार्टी एकताकाे लागि गृहकार्य समेत अगाडि बढेकाे बताए । तर निर्वाचन अगाडि एकताकाे कुरा सम्भावना नभएकाे समेत उनले बताए ।
यसैबिच पार्टी अध्यक्ष नेपालले सुदूरपश्चिमकाे प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी मन्दिरमा दर्शन पनि गरेका छन् । मन्दिर दर्शनका क्रममा शैलेश्वरी क्षेत्र विकास समितिले अध्यक्ष नेपाललाई बाजागाजा सहित स्वागत तथा अभिनन्दन गरेको थियाे ।
त्यस लगत्तै नेता नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । नेता नेपालको साथमा पुर्व सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले लगाएतका नेताहरू पनि रहेका छन् ।