डोटीको दिपायलबाट बन्द गराउने दुई जना पक्राउ
भाद्र ७, डोटी ।
चार वटा कम्युनिस्ट पार्टीको संयुक्त नेपाल बन्दको क्रममा डोटीको दिपायलबाट बन्द गराउने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मोहन कठायत र सोही पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा डोटी इन्चार्ज प्रकाश कठायत रहेका छन् ।
दिपायलमा बाटो बन्द गराउने, टायर बाल्ने, बजार बन्द गराउने कार्यमा संलग्न रहेको अवस्थामा उनीहरुलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए ।
उनीहरुलाई अहिले जिप्रकामा राखिएको छ ।
‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी ‘शुशील’ नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले आज मंगलबार संयुक्त नेपाल बन्दको आह्वान गरेका छन् ।
बन्दले डोटीमा यातायात, शैक्षिक संस्था, बजार लगाएतका क्षेत्रमा प्रभाव परेको छ ।