डेउडा गीत – ‘पोखरा विमान दुर्घटना !’

264

– निर्मल कुमार भण्डारी
१. उनासी सालकी माघी – देश दुर्दशा भै,
जहाँजको दुर्घटना – मर्न्याकी दशा भै ।
२. यती एयर बहत्तर – नम्बरकी प्लेन,
बहत्तर जनाकी मौत – होइगै एकै दिन ।
३.साढे दश् बजेका बेला – काठमाण्डौं है उडी,
पोखरा सेतीको खोंच – दुर्घटना पडी ।
४. काठमाण्डौ है पोखराको – अर्या थ्यो उडान,
पोखरा पुग्याका बेला – झडियो बिमान ।
५.अगासै हल्लिया धेक्यो – जहाँज धेकन्याले,
सेती खोंच लेख्या रैछ – मौत लेखन्याले ।
६. ओल्टा–पल्टी भया धेक्यो – अगासकि प्लेन,
धेक्याका केइबेर पछा – झडिगै जमिन ।
७. आगो फुट्यो जहाँजमी – न दमकल पानी,
भितर भयाका मान्छे – हाण्णा हुन्की चानी ।
८.न बाइर निकल्ल्या बाटो – न बाँचन्या बाटो,
धुकालकी कुइडी रम्म – होइग्यो काल घाटो ।
९.सङ्गै धुवा सङ्गै आगो – जल्न लागी प्लेन,
नजिक् जान सकिन्या नाई – आगाकी दन्दन ।
१०. भितरै जलेर मर्या – मान्छेका जिउ धन,
बाइरकी छट्पटि मान्तर – स्रोत न साधन ।
११. विकट सेतीका खोच – बजार है टाढा,
जहाँज भित्र मरन्याको – पीडा रैयो गाढा ।
१२. कसो मन् भयो हो कठै ! जहाज झड्न्या बेला,
अ आगाका लप्कामी पड्या – परान छाड्न्या बेला ।
१३. धुकालले पिरोल्यो हो – आगाले पोल्यो हो,
बेहोस भयाको प्राण – क्या भाका बोल्यो हो ।
१४ं आधा परान सर्कै रैयो – जहाँज झड्न्या बेला
वाँ पछि आगाका लप्का – परान छुट्न्या बेला ।
१५ं सङ्गै बस्या सङ्गै मर्या – त्यै काल घाटामी,
राहुकेतु बस्या हुन् की – सर्कका बाटामी ।
१६. लास जलेर काली पट्ट – हेर्या न चिनिन्या,
जल्या मान्छे को कैका हुन् – जाण्णै नसकिन्या ।
१७. कसेरी निकाली सक्यो सुरक्षा कर्मीले,
बहत्तरकि बली खायो – मैना अधर्मीले ।
१८.अष्टमी तिथिको साइत – संक्रान्तिको दिन
आइतबार उत्तरायण – के पडी दुर्दिन ?
१९. विधिको विधान होकी – प्रविधिको त्रुटी,
बहत्तर जनालाई सङ्गै – लैग्यो काल लुटी ।
२० स्वदेशी विदेशी यात्रु – सङ्गै चालक पनि,
बाल्–बच्चा महिला पनि – सङ्गै पुरुष पनि
२१. नेपाली त्रिपन्न जना – पन्द्र हुन् विदेशी,
चार जना चालक दल – बहत्तरकि रेसी ।
२२. सैतीस पुरुष थिया – महिला पच्चीस,
तीन् बालक तीनै शिशु – बहत्तरका बीच ।
२३.जन् धनको क्षति भयो – सबै भण्णा ठूलो,
पोखरा सेतीका खोच – खरानीको धुलो
२४. एक गते माघका मैना – किलाई भै है न्यारो,
ज्यान गुमाउन्या आफन्तको – मन् अरि अनारो
२५. सम्वेदना आफन्तलाई – शान्तिहोउ मर्न्या लाई
भावपूर्ण श्रद्धाञ्जली – संसार तर्न्या लाई !!!

Leave A Reply

Your email address will not be published.