एमाले डोटीले नियमित ‘अनलाइन प्रशिक्षण’ चलाउँदै
माघ २८, डोटी ।
नेकपा (एमाले) डोटीले नियमित ‘अनलाइन प्रशिक्षण’ चलाउन थालेको छ ।
एमाले डोटीका सचिव एवं संगठन विभाग प्रमुख शेर बहादुर मल्लले दिएको जानकारी अनुसार प्रविधिको प्रयोग गर्दै पार्टीको सैद्धान्तिक ज्ञान र संगठन सुदृढीकरणमा टेवा पुर्याउने उद्देश्यले ‘अनलाइन प्रशिक्षण’ थालनी गरिएको बताए ।
माघ २१ गते शनिबारदेखि शुरूवात गरिएको ‘अनलाइन प्रशिक्षण’ कार्यक्रम आगामी दिनमा हरेक शनिबार साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिने मल्लले बताए ।
माघ २१ गते शनिबारको पहिलो कार्यक्रम एमाले केन्द्रीय सचीव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं पुर्व मन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको थियो ।
आज माघ २८ गतेको शृङ्खलामा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचीव एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकको प्रमुख आतिथ्यता एवं सहजीकरणमा ‘अनलाइन प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको एमालेले जनाएको छ ।
प्रविधिको प्रयोग गर्दै एमाले डोटीले शुरूवात गरेको ‘अनलाइन प्रशिक्षण’ कार्यक्रमले पार्टीको सैद्धान्तिक विचार आदानप्रदान गर्दै पार्टी परिचालन तथा संगठन सुदृढीकरणमा बहुउपयोगी हुने एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचीव एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए ।
‘अनलाइन प्रशिक्षण’ कार्यक्रममा डोटी जिल्लाबाट केन्द्रीय कमिटी, प्रदेश कमिटीमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरु सङ्गै जिल्ला कमिटी, मातहतका सबै कमिटी, जनवर्गीय संगठन र पार्टीका सम्पूर्ण नेता कार्यकर्ता सहभागी हुनसक्ने जनाइएको छ ।
नेकपा एमाले डोटी-काठमाण्डौ सम्पर्क मंचका उपसचिव धन बहादुर रावतले ‘अनलाइन प्रशिक्षण’ कार्यक्रमको मिटिङ्ग लिङ्क बनाएर प्राविधिक सहयोग गरिरहेको एमालेले जनाएको छ ।
सबैको सुझाव सल्लाह अनुसार ‘अनलाइन प्रशिक्षण’ कार्यक्रमलाई व्यवस्थित गर्दै पार्टी केन्द्रिय अध्यक्ष, पदाधिकारी, पार्टीको केन्द्रीय संगठन विभाग, स्कुल विभाग लगाएतका विभिन्न नेताहरुद्वारा प्रशिक्षण दिइने आगामी योजना रहेको जनाइएको छ ।