नरेन्द्र बहादुर रोकाया नेतृत्वमा एमाले डोटी-काठमाण्डौ सम्पर्क मंचको नयाँ कमिटी गठन
माघ २०, काठमाण्डौ ।
नेकपा (एमाले) डोटी-काठमाण्डौ सम्पर्क मंचको नवौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नेपाल कमर्स क्याम्पस नयाँ बानेश्वरमा सम्पन्न अधिवेशनबाट नरेन्द्र बहादुर रोकाया नेतृत्वमा
सर्वसम्मत नयाँ कमिटी गठन भएको छ । डोटीको आदर्श गाउँपालिका ३ का पुर्व वडा अध्यक्ष समेत रहनुभएका रोकाया नेतृत्वको नयाँ कमिटीको उपाध्यक्षमा मुकुन्ददीप मडै र लता खड्का, सचिवमा धन रावत, उपसचिवमा रबिन्द्र थापा र कोषाध्यक्षमा राज कुमार माझी चयन भएका छन् ।
सदस्यहरुमा आयुश श्रेष्ठ, प्रकाश बडैला, विष्णु ओझा, कल्पना देउवा र मिलन ओझा रहेका छन् ।

दुई वर्ष कार्यकालको लागि गठित कमिटीको महिला उपसचिव र केही सदस्यहरु आगामी बैठकबाट मनोनीत गरि ३१ सदस्यीय कमिटी बनाइने सचीव धन रावतले नजर अनलाइनलाई जानकारी दिनुभयो।
विभिन्न कामको शिलशिलामा काठमाडौं बस्दै आएका नेकपा (एमाले) समर्थक डोटेलीहरुको साझा थलोका रुपमा डाेटी-काठमाडौं सम्पर्क मञ्च रहेको छ ।
मञ्चको नवौं अधिवेशन निवर्तमान अध्यक्ष रुपा कठायतको अध्यक्षता र प्रमुख अतिथि नेकपा (एमाले) पाेलिट व्युरो सदस्य एवं डोटी इन्चार्ज लिला भण्डारी रहनुभएको थियो ।

अधिवेशनमा सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले डाेटी-काठमाडौं सम्पर्क मञ्चले नेकपा (एमाले) पार्टीको सिद्धान्त, नीति र कार्यक्रम अनुसार सबैलाई समेट्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । हालसम्म मञ्चले पुर्याएको योगदानको सम्मान गर्दै आगामी दिनमा थप सशक्त ढंगले अगाडि बढ्न उहाँले शुभकामना दिनुभयो ।
अधिवेशनमा अन्य थुप्रै अतिथिहरुले सम्बोधन गरेका थिए ।
अधिवेशन सम्पन्न गर्न आर्थिक, भाैतिक रुपमा प्रत्यक्ष/अप्रत्यक्ष साथ सहयोग गर्नुहुने, शुभेच्छा तथा शुभकामना दिनुहुने सम्पूर्णलाई एमाले डाेटी-काठमाडौं सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष रुपा कठायतले विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

निर्वाचित भैसकेपछी बोल्दै नयाँ कमिटीका अध्यक्ष नरेन्द्र रोकायाले मञ्चको मर्म र उद्देश्य अनुसार सबैलाई समेट्दै सबैको सुझाव सल्लाह अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

