जोरायल महोत्सव समापनमा गण्डकी प्रदेश प्रमुख भट्ट आउँदै, नागरिक अभिनन्दनको तयारी

289

बैशाख २, डोटी ।
डोटीको जोरायलमा संचालन भैरहेको “दोस्रो जोरायल महोत्सव २०८०” को समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आउने भएका छन् ।
२०८० चैत २८ देखि शुरु भइ २०८१ बैशाख ३ गते समापन हुने महोत्सवलाई गण्डकी प्रदेश प्रमुख भट्टले सम्बोधन गर्ने युनिक युथ स्पोर्ट्स क्लबका अध्यक्ष पवन कुमार शाहुले जानकारी दिए ।
गण्डकी प्रदेश प्रमुख भट्टले जीवनको अधिक समयसम्म उर्जा खर्चेको ठाउँ जोरायलमा उनको नागरिक अभिनन्दन गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
उनलेे भने-“जोरायलसङ्ग माननीय गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको लामो इतिहास जोडिएको छ, जिम्मेवारीका हिसाबले फरक प्रदेशमा भए पनि जोरायलको समग्र विकासका लागि उहाँको योगदान र अहिले प्राप्त जिम्मेवारीले जोरायलको गरिमा उच्च भएको छ, त्यसैले हामी अभिनन्दनको तयारीमा छौं, यो हाम्रो कर्तव्य पनि हो ।”
गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी पाएपछि पहिलोपटक जोरायल आउन लागेको हुनाले उनको अभिनन्दन गर्न लागिएको हो ।
समृद्धिको अभियान, जोरायलको पहिचान भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा गत चैत २८ गते ध्वज महरा, २९ गते बद्री पंगेनी, ध्वज महरा, कुलेन्द्र परियार, ३० गते रेखा जोशी, सौगात ओझा, सरस्वती धामी, बैशाख १ गते पुस्कल शर्मा, झलक पालीले आ-आफ्ना प्रस्तुतिमार्फत दर्शकहरूलाई मनोरञ्जन दिलाएका छन् ।
यस्तै आज बैशाख २ गते चक्र बम, भिम बिस्ट ‘अछामी रेखा’, दिपेन्द्र ओली लगाएत कलाकारहरुको प्रस्तुति रहनेछ ।
भोलि बैशाख ३ गते समापनको दिन लक्ष्मी आचार्य र नवीन जेठारा ‘महासागर’ को प्रस्तुति रहेकोे छ ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले महोत्सव समुद्घाटन गरेका थिए ।
उद्घाटनको दिन र दोस्रो दिन उद्घोषकको रूपमा गायक तथा पत्रकार झलक पाली ‘झरना’ रहेका थिए भने त्यस यता गायिका तथा उद्घोषक उमादेवी खनालले उद्घोषण सहित गीत गाएर मनोरञ्जन दिदै आएकी छन् ।
साथमा स्थानीय चौलो नाच, गौरा नाच लगाएत विभिन्न नव प्रतिभाका प्रस्तुतिहरु पनि रहेका छन् ।

Leave A Reply

Your email address will not be published.