शिक्षक नियुक्तिको परीक्षा विवाद, वडा अध्यक्षद्वारा परीक्षार्थीमाथी हातपात, परीक्षा स्थगित

2,358

बैशाख १७, डोटी ।
डोटीको एक विद्यालयमा शिक्षक नियुक्तिको परीक्षा बारे विवादमा वडा अध्यक्षबाट शिक्षक पदका परीक्षार्थीमाथी हातपात भएको छ भने निवेदन परेपछि परीक्षा स्थगित भएको छ ।
दिपायल सिलगढी नगरपालिका ८ लडागडा स्थित सुनादेवी माध्यमिक विद्यालयमा निम्न माध्यमिक तह अङ्ग्रेजी राहत शिक्षक पदको परीक्षा विवादमा सो वडा अध्यक्ष दशरथ बलायरले परीक्षार्थी उम्मेदवार मान बहादुर कुन्जेडामाथी हातपात गरेका हुन् ।
उक्त शिक्षक पदमा वडा अध्यक्ष बलायरले फरक व्यक्तिलाई शिक्षक नियुक्ति दिलाउन खोजेपछि विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर कडायतले विद्यालय व्यवस्थापन समिति अध्यक्ष सरस्वती बुढा साउँदलाई फोन गर्दै अर्को व्यक्तिलाई परीक्षामा पास गराउनुपर्ने भन्दै फोन गरेको अडियो सहित बाहिरिएको छ ।
अडियो सहित परीक्षार्थी उम्मेदवार शेर बहादुर कुन्जेडा र मान बहादुर कुन्जेडाले दिपायल सिलगढी नगरपालिकामा निवेदन पेश गरेपछि वडा अध्यक्ष बलायरले नगरपालिकाको प्राङ्गणमा हातपात गरेको बताइएको छ ।
उजुरीमा उल्लेख भए अनुसार ‘विद्यालयमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफूले चाहेका उम्मेदवार सफल नभएमा परीक्षा रद्द गर्ने, विद्यालयकाे सम्पत्ति दुरुपयोग गर्न खाेजिएकाे, शिक्षा ऐन विपरीत कार्य गरी राजनीतिक दाउपेच गरेकाे, परीक्षार्थीलाई खुल्ला प्रतिस्पर्धा गर्न पाउने अधिकारबाट बञ्चित गर्न खाेजेकाे, विद्यालयलाई खुल्लारूपमा राजनीतिक आखडा बनाएकाे, विद्यार्थीहरूले याेग्य शिक्षकबाट पढ्न पाउने अधिकार बञ्चित बनाएकाे उल्लेख छ ।’
परीक्षा स्थगित गरि निस्पक्ष हुनुपर्ने माग सहित निवेदन पेश गर्ने क्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले समेत आफुहरुलाई को हो तपाईंहरु ? तपाईंले भनेर परीक्षा स्थगित हुन्छ ? भन्दै धम्की दिएको निवेदक द्वयले बताए ।
प्रअ र विव्यस अध्यक्ष बिचको फोनमा भएको कुराकानीको अडियो नजर अनलाइन लाई पनि प्राप्त भएको छ ।
घटना बारे दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता समेत रहेका वडा न. ८ का वडा अध्यक्ष बलायरले कहिलेकाहीँ हुने गल्तीको रूपमा हातपात गरेको स्वीकार गरेका छन् ।
उनलेे भने-“तिनीहरु आएर गालीगलौच गर्यो, त्यसपछि भएको घटना हो, कहिलेकाहीँ बाइ मिस्टेक हुन्छ ।”
अध्यक्ष बलायरले प्रअ कडायतको अडियो आफुले पनि सुनिसकेकोले प्रअ माथि छानबिन गरिने बताए । साथै नियम कानुन अनुसार कारवाही पनि गरिने र परीक्षा निष्पक्ष एवं पारदर्शी तवरले संचालन गरिने बताए ।
घटना बारे दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारसङ्ग बुझ्दा आफुले निवेदकलाई धम्की नदिएको तर निवेदन मात्रै होइन प्रमाण सहित दिनुस् भनेको बताए । अडियो प्रमाण पेश गरेपछि निवेदन अनुसार परीक्षा स्थगित गरिएको पनि उनले बताए ।

प्रअ कडायतको भने फोन स्विच अफ रहेकोे छ ।
पीडित पक्षले वडा अध्यक्ष बलायरको नाममा अभद्र व्यवहार अन्तरगत जिल्ला प्रहरी कार्यालय डोटीमा जाहेरी दर्ता गर्न लागेको बुझिएको छ ।
उक्त शिक्षक पदका लागि आज सोमबार बिहान ९ बजे परीक्षा समय तोकिएको थियो भने ४ जनाको उम्मेदवारी रहेको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.