बोगटान फुड्सिल ६ को सार्वजनिक सुनुवाइ सम्पन्न
पुस ९, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
युएमएन र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डोटीको सहयोगमा उक्त वडाको सभा हलमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागिहरुले वडा कार्यालयले गर्ने कामका विषयमा विभिन्न जिज्ञासा, गुनासा तथा सुझावहरु औंल्याएका छन् ।
स्थानीय धर्म सिं बि.क.ले वडा कार्यालयबाट आरन व्यवसायका लागि सहयोग गरिनुपर्ने र सार्वजनिक कार्यक्रममा सबैलाई समान व्यवहार गरिनुपर्ने सुझाव दिए ।
त्यस्तै मष्टेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक झकेन्द्र बहादुर चन्दले हरेक वर्ष आयोजना हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका लागि विद्यालयले रकम व्यहोर्नुपर्ने तर विद्यालयमा आर्थिक श्रोत नहुने, गाउँपालिका र वडाबाट सहयोग प्राप्त नहुने परिस्थिति रहेकाले सहयोग गरिनुपर्नेमा जोड दिए । त्यस्तै यस वर्ष आफ्नो विद्यालयमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालनको प्रस्ताव आएको तर बजेट अभावकै कारण सम्भव नभएको प्रअ चन्दले गुनासो गरे ।
कार्यक्रम सहभागि नेकपा माओवादी केन्द्रका प्रतिनिधी दिलिप सिंह चन्दले वडाको बजेट तथा कार्यक्रम तय गर्दा राजनीतिक दलहरुसँग पनि सल्लाह गरिनुपर्ने धारणा राखे ।
त्यस्तै वडा स्तरीय बाल सञ्जालका उपाध्यक्ष तथा मष्टेश्वरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा दुर्गा देउवाले आफ्नो कमजोर पारिवारिक अवस्थाका कारण सिड नेपालले ड्रेस, झोला, कापी, कलम लगाएतको सहयोगले पठनपाठनको वातावरण पाएको बताईन् । जसका लागि वडा र सिड नेपालबाट निरन्तर सहयोगको आशा राखेको उनले बताइन् ।
गगुडा स्वास्थ्यचौकीका सिनियर अ.हे.व. शिशिर बोगटीले बेबी वार्मर र स्ट्रेचरका लागि सिड नेपालसँग सहयोगको माग गरे ।
त्यस्तै सिड नेपाल डोटीका अध्यक्ष यज्ञराज जोशीले नीतिगत प्रावधान अनुसार गाउँपालिका, वडाहरुले सार्वजनिक सुनुवाइलाई निरन्तरता दिनुपर्ने बताए । यसका साथै वडा तहबाट समयमै माग भई आएमा सिड नेपालबाट गर्न सकिने सहयोगका लागि प्रतिवद्धता जनाए । 
वडाको सार्वजनिक सुनुवाइका लागि गत वर्ष सहयोग गरेको र यस वर्ष पनि सहयोग गरेको सिड नेपालका सामुदायिक विकास सहजकर्ता भुवन मल्ल बमले बताइन् ।
कार्यक्रममा बोगटान फुडसिल गाउँपालिका ६ का वडा सचिव रविन मल्लले आर्थिक वर्ष २०८०/८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका सम्पूर्ण प्रश्नको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्याम बोगटीले जवाफ दिएका थिए । नीतिगत रुपमा वडाले वर्षमा दुइ पटक सार्वजनिक सुनुवाइ गर्ने भनिएता पनि सबै कागजात र भुक्तानी प्रक्रिया गाउँपालिकामा हुने हुँदा समस्या भएको बताए ।
यसैबिच वडाले राजश्वको काम बाहेक गाउँपालिकाको ढिलासुस्तीका कारण चालु आ.व.को ९ महिनाको अवधीसम्म कुनै पनि योजना कार्यान्वयन गर्न नसकिएको बताए ।
वडा नं. ६ मा सिड नेपालले गरेका कामहरुको वडा अध्यक्ष बोगटीले खुलेरै प्रशंसा गरेका थिए । वडाबाट पुर्वाधार विकासका कामहरुलाई प्राथमिकता दिनुपर्ने बाध्यता भएको तर सिड नेपालले आयआर्जनका साथै क्षमता विकासका कामहरु पनि गरेकाले वडालाई ठूलो सहयोग पुगेको उनले बताए ।
पत्रकार झलक पालीले सहजिकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो वडाका जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्वास्थ्यचौकीका कर्मचारी, विभिन्न विद्यालयका प्रतिनिधी लगाएत स्थानीय सरोकारवालाहरुको सहभागिता रहेको थियो ।