भारत र चीनका रक्षामन्त्रीबीच रुसमा वार्ता, सीमा विवाद अन्त्यको पहल गर्ने
एजेन्सी
भाद्र २० काठमाण्डौ ।
भारत र चीन सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेका बेला भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र चीनका रक्षामन्त्री वेई फेंघेबीच रुसमा भेटवार्ता भएको हो ।
दुई घण्टा २० मिनेटसम्म भएको छलफलमा सीमामा भइरहेको दुई देशका सेनाको तनाव कम गर्ने विषयमा छलफल भएको बीबीसीले जनाएको छ । संघाई सहयोग संगठनको बैठकमा भाग लिन रुस पुगेका दुई देशका रक्षामन्त्रीबीचको छलफलले सीमा क्षेत्रमा भइरहेको तनाव कम हुने अपेक्षा लिइएको अल इण्डिया रेडियोले जनाएको छ ।
छलफलमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले अन्तर्राष्ट्रिय कानुनको पालना गरेर एक अर्कामा भरोसा राखेमा तनाव कम हुने बताउनुभएको छ । चीनका रक्षामन्त्री फेँघेले पनि वार्तामार्फत सबै विवाद समाधान गर्न सकिने भएकाले दुई देशबीच संवाद जारी राख्नुपर्ने बताउनुभएको थियो ।
गएको जुनमा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएपछि भारत र चीनबीचको तनाव बढ्दै गएको छ । – उज्यालो अनलाइनबाट