मन्दिरै मन्दिरको गाउँ ‘पलाडी’

1,001

फाल्गुन ४, डोटी ।
गाउँको बिचमा सडक । तल र माथितिर मानव बस्ती । बस्तिको बिच बिचमा दर्जनौं देवी देवताका मन्दिर । त्यो गाउँ हो डोटीको बोगटान फुड्सिल गाउँपालिका ६ मा रहेको ‘पलाडी’ गाउँ । जसलाई मन्दिरै मन्दिरको गाउँ भन्दा फरक नपर्ला ।
पुर्खाहरुले देवी देवताका स्थान (काठले बनाईएका माणु) हरुमा पहिल्यै देखि पूजाआजा गर्ने गर्दथे । तर पछिल्लो समयमा पलाडी गाउँबाट देश विदेश गएका र स्थानीयबासीन्दाहरुले चन्दा संकलन गर्दै एकपछि अर्को मन्दिर बनाएको देखिन्छ । प्राय मन्दिर चन्दा संकलन गरेरै निर्माण गरिएका छन् ।

May be an image of mountain and fog
स्थानीय ४४ वर्षिय सुरज बहादुर बोगटी भन्छन्–‘यहाँका मानिसहरुको देवी देवताप्रतिको आस्था र श्रद्धा जुन थियो । यहाँ रहेका शिवजी, कालिका र अन्य देवताका माणुहरुमा हाल मन्दिर निर्माण भएका छन् । हामी गाउँबासीले चन्दा संकलन गरेरै मन्दिर बनाएका हौं ।’
त्यसैगरी २८ वर्षिय युवा हरिष बोगटी भन्छन्–‘हामी हिन्दुहरु धार्मिक विश्वास गर्छौं । देवी देवतामा विश्वास गर्छौं । बाजेबराजुका पालादेखिका देवताका माणुहरुलाई एकपछि अर्काे देखासिकी गर्दै सबै मन्दिरहरु बनेका हुन् ।’
पलाडी गाउँकै दायम टोलका ४७ वर्षिया बालकृष्ण बोगटीका अनुसार त्यहाँका धेरै जसो मानिसहरु कामको शिलशिलामा भारत जानुहुन्थ्यो । भारतमा सबै मिलेर कमिटि बनाएर रकम जम्मा गरेछन् । उक्त रकम कहाँ लगानी गर्ने त भन्ने समूह छलफलपश्चात मन्दिरमा लगानी गरेका हुन् ।
त्यहाँको मूख्य देवता ‘मंगलेश्वर’ देवता रहेको बोगटीले जानकारी दिए । यसका साथै उक्त गाउँमा नरियाल, कैल्याल, मोहन्याल, भेल्खेती, छडाल, गडाल, शिकारी लगाएत देवी देवताहरुको बासस्थान छ ।

May be an image of mountain, fog, horizon and grass
अधिकांश मन्दिरहरुमा तिथि अनुसार पूजाआजा हुन्छ । तर केहि मन्दिर बाहेक प्राय मन्दिरमा ठूलो जाँत मेला लाग्दैन ।
त्यहाँको मेला जाँतमध्ये कार्तिकमा लाग्ने चतुर्दशी मेला, बैशाख १ को विशु पर्व र माघ १ को पुतला विशेष सँस्कृतिका रुपमा परिचीत रहेको स्थानीय बासिन्दा एवं गगुडा स्वास्थ्यचौकीका सिनियर अहेव शिशिर बोगटीले जानकारी दिए ।
मंगलेश्वर देवताको जाँत मंसिर महिनाको एकादशी तिथिमा हुने गर्दछ । दुधधारी देवता मंगलेश्वरको जाँतमा घरघरबाट पुज लैजाने, देवताले दुध खाने, धामी नाँच्ने लगाएतको रमाइलो पनि हुने गर्दछ । May be an image of one or more people and crowd
यसका साथै पलाडी गाउँकै कोल्मुडा टोलमा दलित बस्ती रहेको र त्यहाँ चतुर्दशी मेला भव्य रुपमा मनाईंदै आएको बालकृष्ण बोगटी सुनाउँछन् । तत्कालीन समयमा स्वर्गीय देव बहादुर कामीले कोल्मुडाको चतुर्दशी मेला (कोल्मुडे दशैं) लाई सभ्य र भव्य बनाउन ठूलो योगदान दिएको बोगटीले स्मरण गरे । त्यहाँको सबैभन्दा प्रख्यात मानिने उक्त मेलामा ठूलो राँगाहरु काटिन्छन् । May be an image of 1 personजहाँ स्थानीय सँस्कृति लाइभ डेउडा कार्यक्रमहरु हुन्छन् । गाउँको बिचमा अलिक फराकिलो र मिलेको देखिने माझरौटामा अवस्थित नवदुर्गाको मन्दिरमा लाग्ने कोल्मुडे दशैंमा बोगटान फुड्सिल गाउँपालिकाका साथै के.आई.सिंह गाउँपालिका र अछामको चौरपाटी गाउँपालिकाको सोकट, दाङ, सलडा क्षेत्रका हजारौं मानिसहरु मेला हेर्न आउने गरेको पनि बोगटीले नजर अनलाइनलाई जानकारी दिए ।

May be an image of tree, fog and mountain
यसका साथै गाउँमा एउटा शिव मन्दिर पनि निर्माण गरिएको छ । जहाँ भारतको राजस्थानबाट करिब एक लाख भारतीय मूल्य बराबरको शिव मुर्ति समेत ल्याएर राखिएको छ । विगतका वर्षहरुमा पनि उक्त मन्दिरमा शिवरात्री मेला लगाउने प्रयासहरु गरिएका थिए । तर यस वर्ष २०८१ को शिवरात्रीलाई अँझ विशेष रुपमा मनाउन गाउँमा सरसल्लाह भैरहेको उनले बताए ।
मन्दिरै मन्दिरको गाउँको पहिचान बनेको भए पनि पलाडी गाउँमा कति वटा मन्दिर छन् भन्ने बारेमा कोहि कसैसँग एकिन तथ्यांक छैन । यद्यपी एकै ठाउँमा ठिङ्ग उभिएर हेर्दा ठूला साना गरेर २४/२५ वटा मन्दिर देख्न सकिन्छ ।May be an image of fog and mountain
पलाडी गाउँलाई पर्यटकीय दृष्टिकोणबाट अगाडी बढाउन आवश्यक रहेको शिशिर बोगटी बताउँछन् । सबै मन्दिरको संरक्षण, मन्दिर–मन्दिर जाने सिँढी र रेलिङ्ग सहितको बाटो निर्माण, उचित प्रचार–प्रसार, गाउँमै स्थानीय परिकार सहित खाने र बस्ने व्यवस्था सहितको होमस्टे सञ्चालन गर्न सके राम्रो हुने उनी बताउँछन् । यसका साथै यहाँ लाग्ने मेला जात्राहरुमा स्थानीय कलासँस्कृति झल्किने कार्यक्रमहरु आयोजना गरिनुपर्ने उनको भनाई छ ।
हालसम्म वडाबाट पर्यटकीय हिसाबले काम गर्न नसकिएको भए पनि आगामी दिनमा कसरी जान सकिन्छ भन्ने बारेमा वडा र गाउँपालिकामा आफुले छलफलको विषय बनाउने सोही पलाडी गाउँका बासिन्दा तथा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्याम बोगटीले बताए । जहाँ सानोतिनो योजना भन्दा पनि ‘पर्यटन गाउँ’का रुपमा विकास गर्न सके राम्रो हुने उनको भनाई छ । यसका लागि गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले नै संयुक्त योजना बनाउनुपर्नेमा उनले जोड दिए ।May be an image of fog and mountain

Leave A Reply

Your email address will not be published.