भारतले धौलीगंगा बाँध खोल्यो : महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

222

भाद्र २१, दार्चुला ।

भारतले धौलीगंगा बाँध खोलेको छ ।

उत्तराखण्डको पिथौरागढमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध गएराति १२ बजेदेखि खोलिएको हो ।

बाँध आज बेलुका ७ बजेसम्म खोलिनेछ । धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्ने भएकाले नागरिकलाई सतर्कता अपनाउन नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खोलेको जानकारीमा आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बाँध खोलेपछि महाकाली नदीमा जलसतह बढ्ने भएकाले नदी छेउछाउ नजान प्रशासनले आग्रह गरेको छ । तटीय क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभएको छ ।

महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मतघाट सम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको पनि उहाँले बताउनुभयो । यस्तै दार्चुलाको ब्याँस गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले सर्तकता अपनाउन आग्रह गरेको छ ।

२०७० सालमा धौलीगंगा बाँधका कारण दार्चुला सदरमुकाममा क्षति भएको थियो । – उज्यालो अनलाईनबाट

Leave A Reply

Your email address will not be published.