डोटीका कुनै पनि पालिकामा बनेनन् आधारभूत अस्पताल
साउन ६, डोटी ।
डोटीको केआई सिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शैयाको अस्पतालका लागि भवन निर्माण गर्न २०७७ साल मंसिर १५ गते सिलान्यास भयो । २०७९ असोज २३ गते निर्माण भईसक्नु पर्ने उक्त अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको गाउँपालिकाका पुष्पराज भट्टले जानकारी दिए ।
भ्याट सहित आठ करोड १५ लाख ७८ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी गाउँपालिका र केएस–तेडी–मनिलेक जेभीबीच २०७८ साल असार २३ गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले कुल सम्झौता रकमको १८ प्रतिशत भुक्तानी लिएको छ ।
गाउँपालिकाले उक्त ठेक्का म्याद तीन पटक थप ग¥यो । तर भवन निर्माणमा कुनै प्रगति देखिएन । पछिल्लो पटक थप भएको म्यादको अवधी पनि गत असार २३ गते समाप्त भएको छ ।
गाउँपालिकाले अस्पताल निर्माणका लागि निर्माण व्यवसायीले लिएको पेश्की फिर्ता गर्न पत्राचार गरिएको जानकारी दिएको छ । निर्माण कार्यमा अझै ढिलासुस्ती भएमा कानुन बमोजिम प्रक्रिया अगाडि बढाईने गाउँपालिकाको भनाई छ ।
यो समस्या के आई सिंह गाउँपालिकाको मात्रै हैन, जिल्लाका सात स्थानीय तहमा बन्नु पर्ने आधारभूत अस्पताल अझै बनेका छैनन् । नेपाल सरकारले तीन सय ९६ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण गर्ने भन्दै २०७७ साल मंसिर १५ गते एकसाथ सिलान्यास गरेको थियो ।
सोही दिन डोटीका सात स्थानीय तह (दिपायल सिलगढी नगरपालिका र आदर्श गाउँपालिका बाहेक) मा अस्पतालको सिलान्यास भएको थियो । तर कुनै पनि स्थानीय तहमा हालसम्म आधारभूत अस्पताल सञ्चालनमा आएको छैन ।
बोगटान फुड्सिल गाउँपालिकाको वडा नं. २ केदारआखडामा निर्माण हुन लागेको १५ शैयाको आधारभूत अस्पतालको भवन पनि अल्पत्रै छ । भवन निर्माणका लागि गाउँपालिका र सिएम–प्रसन्न जेभीबीच २०७८ साल असार १८६ गते सम्झौता भएको थियो ।
२०७९ साल असार २९ गते निर्माण भईसक्नु पर्ने भवनको हालसम्म १५.६३ प्रतिशत मात्रै काम भएको छ । भ्याट सहित १६ करोड ८५ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएकोमा निर्माण व्यवसायीले हालसम्म पेश्की दुई करोड ९० लाख लिईसकेका छन् ।
गाउँपालिकाले पटक पटक ताकेता गर्दा समेत निर्माण व्यवसायीले लापरवाही गरेको गाउँपालिकाका अध्यक्ष कमलवहादुर गड्सिला बताउँछन् ।
बडीकेदार गाउँपालिकामा १० शैयाको आधारभूत अस्पताल स्थापना गर्नका लागि २०७७ साल मंसिर १५ गते सिलान्यास भएको भवनको हालसम्म ४५ प्रतिशत मात्रै काम भएको छ ।भवन निर्माणका लागि धुलिखेल एलबी एण्ड एबी जयश्री बालाजी जेभीसंग २०७८ साल असोज ४ गते सम्झौता भएको थियो ।
सम्झौताअनुसार भवनको निर्माण कार्य २९ मंसिर २०७९ मा सम्पन्न भईसक्नु पर्ने थियो तर निर्माण भएन । ठेक्का सम्झौताको म्याद २०८० पुष मसान्तसम्म थप भएपनि काम भने ३५ प्रतिशत मात्रै काम गर्यो ।
उक्त भवन निर्माणका लागि गाउँपालिकाले तीन पटक म्याद थप गरेको छ । पछिल्लो पटक थप गरेको म्यादको अवधी कात्तिक मसान्तसम्म रहेको गाउँपालिकाले जानकारी दिएको छ ।
भ्याट सहित सात करोड २६ लाख १९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म निर्माण व्यवसायीले कुल ठेक्का सम्झौताको ५७ प्रतिशत रकम भुक्तानी लिएको गाउँपालिकाले उपलव्ध गराएको सूचनामा उल्लेख छ ।
जोरायल गाउँपालिकाको आधारभूत अस्पतालको दशाँ पनि उस्तै छ । २०८० साल असार मसान्तमा निर्माण भईसक्नु पर्ने यस गाउँपालिकाको १५ शैयाको अस्पतालको भवनको हालसम्म ११ प्रतिशत मात्रै काम भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले दिएको जानकारी अनुसार भवन निर्माणका लागि वराह डेभलपर्स प्रालि (साविकको राजेन्द्र निर्माण सेवा) संग २०७८ साल साउन १९ गते सम्झौता भएको थियो ।
भ्याट सहित ११ करोड २१ लाख ५८ हजार रुपैयाँमा सम्झौता भएकोमा हालसम्म एक करोड ९६ लाख रुपैयाँ निर्माण व्यवसायीलाई पेश्की दिईएको छ । भवन निर्माणका लागि पटक पटक म्याद थप गर्दा समेत निर्माण व्यवसायीले काम गरेको छैन । पछिल्लो पटक थप भएको म्याद समेत साउन १९ गते समाप्त हुँदैछ, तर काम हुने कुनै सम्भावना छैन ।
२०८१ साल साउन ३० गते सम्पन्न हुनु पर्ने सायल गाउँपालिकाको आधारभूत अस्पतालको भवनमा हालसम्म भवन निर्माण स्थलमा माटो सम्याउने काम वाहेक अरु केही भएको छैन ।गाउँपालिकाले दिएको जानकारी अनुसार उक्त भवन डौड स्वास्थ्य चौकी नजिक वन्नु पर्ने थियो ।
१० शैयाको आधारभूत अस्पताल सञ्चालन हुने गरी निर्माण हुने भनिएको उक्त भवनको टिडिआर कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो । भ्याट सहित आठ करोड ४६ लाखमा निर्माण गर्ने भनी २०७८ साल साउन ३० गते ठेक्का सम्झौता भई निर्माण व्यवसायीलाई ८४ लाख रुपैयाँ पेश्की समेत लिएका थिए ।
ठेक्का सम्झौताको म्याद समाप्त भई दुई पटक म्याद थप गर्दा समेत कार्य प्रगति नभएको गाउँपालिकाले जानकारी दिएको छ । पछिल्लो पटक थप गरिएको म्याद समेत असार मसान्तमा सकिएको छ ।
शिखर नगरपालिकाको १५ शैयाँको अस्पतालको भवन पनि निर्माण भएको छैन । २०८० असार १४ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने शर्त सहित २०७८ साल बैशाख २१ गते नगरपालिका र निर्माण व्यवसायी कम्पनी केएस कन्स्ट्रक्सन प्रालिबीच सम्झौता भएको थियो ।
१० करोड ३० लाख सात हजारमा सम्झौता भएको उक्त भवनमा हालसम्म ९० प्रतिशत काम भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र शाहले जानकारी दिए । उनले पछिल्लो पटक म्याद थप भएको सम्झौता अवधी असार मसान्तमा सकिएको वताए । भवन निर्माणका लागि स्रोत व्यवस्थापन नभएकाले निर्माणमा ढिलाई भएको नगरपालिकाको भनाई छ ।
पूर्वीचौमा भवन बन्यो तर अस्पताल सञ्चालन भएन
पूर्वीचौकी गाउँपालिकामा भने आधारभूत अस्पतालको भवन निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाका सूचना अधिकारी गगन भण्डारीले दिएको सूचना अनुसार १० शैयाको अस्पतालका लागि भवन निर्माणको कार्य सम्पन्न भएपनि अस्पताल भने सञ्चालनमा आएको छैन । दक्ष जनशक्ति र उपकरणको अभावले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाले जानकारी दिएको छ ।
उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग जनशक्ति र आवश्यक सामग्रीहरु सहयोगका लागि माग गरेका छौं, उक्त सामग्री प्राप्त भएमा अस्पताल चाँडै सञ्चालनमा आउनेछ ।’
यो समाचार रामहरि ओझाले नेपाल प्रेसमा लेखेका छन् ।