सिड नेपाल डोटीको अध्यक्षमा पुनः जोशी, सर्वसम्मत ९ सदस्यीय कार्य समिति चयन
भाद्र १८, डोटी ।
डोटीमा क्रियाशील गैह्र सरकारी संस्था समान पहुँच विकास केन्द्र (सिड) नेपालको अध्यक्षमा पुनः यज्ञराज जोशी दोहोरिएका छन् ।
संँस्थाको बुधबार सिलगढीमा सम्पन्न १९ औं साधारण सभा तथा अधिवेशनबाट जोशी नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन भएको हो ।
नयाँ समितिको उपाध्यक्षमा गणेश पार्की, महासचिवमा प्रेम नेपाली, सचिवमा राधिका टमाटा र कोषाध्यक्षमा संगीता मल्ल सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यमा सरस्वती मल्ल, जगुली नेपाली, नवराज जोशी र गीता कुमारी कुँवर चयन भएका छन् ।

सिड नेपालका सँस्थापक एवं पूर्व अध्यक्ष शेर बहादुर मल्लले वि.सं. २०६३ मा संस्था स्थापना गर्दाको अवस्थादेखि हालसम्मका प्रयासहरुलाई स्मरण गर्दै नयाँ कार्य समितिलाई बधाई सहित सँस्थाको लक्ष्य, उद्धेश्य अनुरुप थप उचाइमा पुर्याउन शुभकामना दिएका छन् ।
सँस्थाको टिमले आफुलाई बोकाएको भारी कुशलतापूर्वक निर्वाह गर्ने र विभिन्न सरोकारवालाहरुबाट प्राप्त सुझावहरुलाई आत्मसाथ गर्दै अगाडी बढ्ने सिड नेपालका नव निर्वाचित अध्यक्ष जोशीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सामाजिक परीक्षण सम्पन्न
यसैबिच सिड नेपालले आर्थिक वर्ष २०८१/८२ को वार्षिक सामाजिक परीक्षण पनि सम्पन्न गरेको छ ।
वार्षिक साधारण सभाकै अवसर पारेर सामाजिक परीक्षण कार्यक्रम पनि सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमूख अतिथीका रुपमा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख लक्ष्मण बहादुर सिंहले गैह्र सरकारी संघसँस्थाहरु सरकारका सहयोगी हातहरु रहेको बताए ।
सिड नेपालले गरेका कामहरुबारे आफु जानकार रहेको बताउँदै सिंहले सँस्थाले गर्ने कामहरु बारे स्थानीय तहहरु थप जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । कतिपय दुरदराजका गाउँमा जनप्रतिनिधीहरु भन्दा सँस्थाका सामाजिक परिचालकहरुलाई बढी चिन्ने गरेको उनले बताए ।
त्यस्तै विशिष्ट अतिथी डोटीका प्रमूख जिल्ला अधिकारी मोहनराज जोशीले सामाजिक परीक्षणमा उठेका कुराहरुलाई आत्मसाथ गर्दै सँस्थाले आगामी दिनमा थप प्रभावकारीताका लागि योजना बनाएर लाग्नुपर्नेमा जोड दिए । 
कार्यक्रमका अधिकांश वक्ताहरुले सिड नेपालले डोटीका विभिन्न पालिकामा पुर्याएको योगदानको प्रशंसा गर्दै केहि सुझावहरु पनि औंल्याएका छन् ।
भए गरेका कामको दिगोपना, आइटी सम्बन्धी नीति बनाएर सँस्थाका कामहरुलाई अद्यावधिक गर्ने, सँस्थाको कार्य समितिलाई थप जिम्मेवार बनाएर काम गर्ने, बालमैत्री स्थानीय शासनका लागि स्थानीय तहसँग मिलेर थप काम गर्नुपर्ने लगाएत सुझावहरु पनि सहभागिहरुले दिएका छन् ।
कार्यक्रममा बोगटान फुडसिल गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्याम बोगटी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नवराज रावल, गैसस महासंघ डोटी अध्यक्ष लाल बहादुर बि.क., वर्ल्डभिजनका प्रतिनिधी गांगी बलायर, सिड नेपालका सल्लाहकार देवीलाल उपाध्याय, नेपाल पत्रकार महासंघ डोटी कोषाध्यक्ष दिपेन्द्र खड्का, डोटी एफएमका स्टेशन मेनेजर रश्मी कुँवर, जिल्ला बाल क्लब सञ्जाल डोटी उपाध्यक्ष अर्जुन साउँद, धार्मिक सञ्जालका प्रतिनिधी रोशन ओझा, लक्षित वर्गका प्रतिनिधी किरण भाट लगाएतका सहभागिहरुले सिड नेपालप्रतिका आफ्ना बुझाई तथा धारणाहरु राखेका थिए ।
सामाजिक परीक्षण कार्यक्रममा सिड नेपालको तर्फबाट कार्यक्रम संयोजक अरुण पाठकले प्रस्तुतीकरण गरेका थिए भने सहजिकरण पत्रकार झलक पालीले गरेका थिए ।
जिल्ला समन्वय समिति डोटीको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।


