फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक

362

असोज २०, डोटी ।
प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन मिति तोकेपछी निर्वाचन आयोगले निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगको सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । जस अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ता गर्नुपर्ने छ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ भने फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि मौन अवधी रहनेछ ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने जनाइएको छ ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने तथा पुस १८ र १९ गते बन्दसूची पेश गर्ने आयोगले जनाएको छ ।
निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले बेलाबेलामा परामर्श तथा छलफल गर्ने जनाएको छ ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेकोले आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कात्तिक ३० अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ निर्वाचन आयोगले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.