काठमाडौको पाँचतारे होटलमा स्वतन्त्र पार्टीले आफ्ना निर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम चर्चित तथा विवादित दुइटै बन्न पुगेको छ । रवि लामिछानेले उ्रक्त कार्यक्रममा गरेको भाषणलाई सबै सञ्चार माध्यमहरूले महत्त्वका साथ स्थान दिएर “चर्चित” बनाउने प्रयत्न गरेका थिए । तर रविकोे भाषण मेरो टिप्पणीको विषय होइन । वाकपटुतामा कुशल मान्छेले यत्तिको भाषण गर्नु कुनै नौलो र अनौठो कुरा होइन । अहिलेसम्म सत्तामा गएका कसैले पनि हामी भ्रष्टाचार गर्न, देश बर्बाद पार्न, राजनीतिको नाममा अनुचित तवरबाट सम्पत्ति जोड्न सरकारमा जाँदैछौँ भनेर भन्दैनन् तर व्यवहार ठिक त्यसको उल्टो गर्छन् । त्यसैले रविको भाषण कुरा गर्ने स्टाइल मात्र हो ।
अभिमुखीकरण कार्यक्रमको विवादित पाटोमा जाऔँ । रविले भाषणमा आफ्ना सांसदहरुलाई सदाचार, नैतिकता र देश सेवाको अर्ति उपदेश दिए । तर जुन होटेलमा कार्यक्रम चलिरहेको थियो, त्यसको मालिक राजेन्द्र शाक्यसँगको रवि कनेक्सन के हो ? रवि–राजेन्द्र बिचको सम्बन्धको रहस्यमय पाटो पनि अगाडि आएको छ । रवि–राजेन्द्र कनेक्शनले रविको सदाचार, नैतिकता, जनताको सेवाको कुरा खाली “कुरा गर्ने” स्टाइलमा परिणत हुन कुनै समय लागेन ।
भ्रष्टाचार सम्बन्धी नेपाल लगायत विश्वका कानुनहरुले कसैबाट अनुचित लाभ लिनुलाई भ्रष्टाचारको परिभाषाभित्र राखेका छन् । रविले शाक्यबाट कति अनुचित लाभ लिए ? प्रमाणको अभावमा एकीनका साथ भन्न नसकिएपनि उनीहरूका बिचको सम्बन्ध अनुग्रह र अनुचित लाभ प्राप्त गर्ने उद्देश्यद्वारा रहेको कुरालाई इन्कार गर्न सकिन्न । जे होस् रवि पक्षले जनताबाट दुई तिहाई सिटमा विजय प्राप्त गरेपछि आफ्नो राजकीय कार्यको शुभारम्भ अनुचित लाभ अर्थात् भ्रष्टाचारबाट गरेका छन् ।
(लेखक राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव हुनुहुन्छ ।)