डोटीबाट सरकारी पूजा सामग्री ‘पेटारो’ सहितको टोली बाजुराको बडीमालिका प्रस्थान

134

साउन २८, डोटी ।

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली डोटीबाट बाजुरा प्रस्थान गरेको छ।

हरेक वर्ष झैँ यस वर्ष पनि जिल्ला प्रशासन कार्यालय डोटीबाट बडीमालिकामा हुने विशेष पूजाआजाका लागि सरकारी पूजा सामग्रीसहितको पेटारो पठाइएको हो।
पैदल यात्रा गर्दै पेटारो टोली करिब १५ दिनमा बडीमालिका पुग्नेछ। जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालसहितको उपस्थितिमा विशेष पूजाआजा सम्पन्न भएपछि प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा समेत पूजा गरिएको थियो। पूजा सम्पन्न भएसँगै पेटारो बडीमालिकातर्फ प्रस्थान गरेको हो।
जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीका दिन बडीमालिकामा मुख्य पूजाआजा गर्ने परम्परा छ। सोही पूजाआजाका लागि राणा शासनकालदेखि नै तत्कालीन डोटी गौणाबाट सरकारी पूजा सामग्रीसहितको पेटारो बडीमालिका पठाउने परम्परा रहिआएको बताइन्छ।
जिल्ला सदरमुकाम सिलगढीबाट प्रस्थान गरेको टोलीले पहिलो दिन बिहीबार साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौट, दोस्रो दिन सोही गाउँपालिका–५ धानुकाँडामा बास बस्नेछ ।  तेस्रो दिन अछामको मार्कु हुँदै प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ पुग्नेछ। त्यसपछि पैदल मार्ग हुँदै बडीमालिका पुग्ने परम्परा रहेको छ।
पेटारोमा डोटी दिपायलमा रोपाइँका समयमा धानको पातबाट बनाइने परम्परागत फूलडी तथा वैद्यनाथको अक्षता लगायतका पूजा सामग्री समावेश गरिएको हुन्छ।
यस वर्षको पेटारो टोलीको नेतृत्व आदर्श गाउँपालिकामा कार्यरत अहेव मकरबहादुर खड्का र सायल गाउँपालिकाका कार्यालय सहायक खगि थापाले गरेका छन्।
सरकारी पूजा सामग्रीसहितको पेटारो प्रस्थानका क्रममा जिल्ला प्रशासन कार्यालय, शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टुकडीले सलामी अर्पण गरेका थिए।
बडीमालिकामा हुने विशेष पूजाआजाका लागि डोटीबाट सरकारी पूजा सामग्रीसहितको पेटारो पठाउने परम्पराले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको छ।

Leave A Reply

Your email address will not be published.