सेतीमा वेपत्ता प्रियंकाको खोजीमा कैलालीबाट सशस्त्रको गोताखोर टोली आउँदै

368

भाद्र ३१, डोटी ।
मंगलबार डोटीको सेती नदिमा हाम फालेर वेपत्ता भएकी युवती प्रियंका श्रेष्ठको खोजी गर्न कैलालीबाट गोताखोर टोली आउने भएको छ ।
मंगलबार बेलुकी करिब ४ः५५ बजेतिर नदिमा हाम फालेकी दिपायल सिलगढी नगरपालिका ६ नाचन्थलीकी २२ वर्षिया श्रेष्ठको खोजी गर्दा फेला नपारेपछि सशस्त्र प्रहरी बल नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालयबाट तालिम प्राप्त गोताखोर टोली आउन लागेको हो ।
सशस्त्र प्रहरी बल ३६ नं. गण दिपायल, दिपायल सिलगढी नगरपालिका वडा नं. ६ र जिल्ला प्रशासन कार्यालय डोटीको समन्वयमा मुख्यालयबाट सहायक प्रहरी निरिक्षक विरेन्द्र कार्की नेतृत्वको ६ जनाको टोली डोटीका लागि हिडिसकेको दिपायल सिलगढी नगरपालिका ६ का वडा अध्यक्ष नरेश मलासीले जानकारी दिए ।
राती डोटी पुग्ने उक्त टोलीले भोलि विहिबार बिहानैदेखि खोजीमा जुट्ने जनाईएको छ ।
मंगलबार आफ्नो जन्मदिनकै दिनमा दिपायल सिलगढी नगरपालिका ३ स्थित झोलुङ्गे पुलबाट युवतीले हाम फालेकी हुन् ।
घटना भए लगत्तैदेखि इलाका प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय डोटी, सशस्त्र प्रहरी बल ३६ नं. गणको टिमसँगै स्थानीय बासिन्दाहरु खोजी कार्यमा खटिएका थिए ।
बुधबार पनि बिहानैदेखि इलाका प्रहरी कार्यालय दिपायलले र सशस्त्र प्रहरी बल ३६ नम्बर गणको टोलीले दिपायल आसपासमा तथा इलाका प्रहरी कार्यालय लडागडा सङ्गै स्थानीय समेतले नारिदाङ क्षेत्रमा खोजतलास गरे पनि फेला पार्न नसकेपछि फिर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
सेती नदिमा खोजतलास सँगै घटनाको कारणबारे विस्तृत अनुसन्धान भैरहेको प्रहरी श्रोतले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.