आजदेखि बडादशैं सुरु, घटस्थापनाको साइत बिहान ११:४७ बजे

157

असोज २५, डोटी ।

हिन्दु नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि विधिवत् सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै घरघरमा जमरा राखेर बडादशैंको स्वागत गरिँदैछ। यस वर्ष घटस्थापनाको शुभसाइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार आज दिनभर चित्रा नक्षत्र रहेकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको हो।
सूर्योदयकालमा प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार नै आजको दिनलाई घटस्थापनाका लागि उपयुक्त ठहर गरिएको उनले बताए। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको प्रचार शास्त्रसम्मत नरहेको पनि अध्यक्ष भट्टराईले स्पष्ट पारे।
बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी पूजाआजा गरिन्छ। घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको जमरा दशैंको टीकाका दिन प्रसादका रूपमा ग्रहण गर्ने धार्मिक परम्परा छ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादशैं नेपाली समाजको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। देवी दुर्गाको आराधना, मान्यजनबाट टीका तथा जमरा ग्रहण, पारिवारिक भेटघाट र आपसी सद्भावको आदानप्रदान यस पर्वका प्रमुख विशेषता हुन्।
घटस्थापनासँगै सुरु भएको बडादशैंले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता र सांस्कृतिक परम्परालाई थप बलियो बनाउने विश्वास गरिन्छ।

Leave A Reply

Your email address will not be published.