विद्यार्थी सिकाईका लागि ‘टोल शिक्षा’ चलाईंदै
भागरथी मडै
असोज ५, डोटी ।
गत डिसेम्बर ३० मा चीनको वुहान शहरमा पहिलो पटक देखा परेको नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रभाव विश्वव्यापी छ । जसबाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा, सञ्चार लगाएत प्राय सबै क्षेत्रमा निकै समस्या छ । नेपालमा गत चैत्र ११ गतेबाट देशभर बन्दाबन्दी समेत गरियो । यद्यपी गत साउन ७ गतेबाट लकडाउन खुकुलो पनि पारियो ।
कोरोनाकै कारण अधिकांश विद्यालयहरु क्वारेन्टाइन बनाईएको परिस्थिती छ । सरकारले २०७७ सालको शैक्षिक शत्रलाई अगाडी बढाउन सकिरहेको छैन । तर पनि यसबिचमा विभिन्न वैकल्पिक शिक्षाका उपायहरु अपनाएर शिक्षण सिकाई क्रियाकलाप सञ्चालन भएका छन् । जसको एक उदाहरण हो, डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ मा रहेको नवयुग सामुदायिक सिकाई केन्द्रको ‘टोल शिक्षा’ ।
डोटीका कतिपय सामुदायिक सिकाई केन्द्र नाम मात्रै भएको अबस्थामा नवयुग सामुदायिक सिकाई केन्द्रले करिब २ महिना पहिलेबाट सो वडाका २१ वटा टोलहरुमा टोल शिक्षा कार्यक्रम लागु गरिएको नवयुग सामुदायिक सिकाई केन्द्रका अध्यक्ष दिपेन्द्र खड्काले बताए । सामाजिक दुरी कायम गर्दै, उपलब्ध भएसम्म स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्दै सञ्चालन भईरहेको टोल शिक्षा कार्यक्रम अन्तरगत विशेषतः कोरोना संक्रमणबाट कसररी बाँच्ने, सामाजिक ज्ञान, सिपसँगै केहि औपचारिक शिक्षाका पाठ्यवस्तु पठनपाठन गराउने गरेको खड्काले जानकारी दिए ।
सिकाई केन्द्र अन्तरगतका प्रत्येक २१ वटै टोल शिक्षा सञ्चालन भईरहेको ठाउँमा आफु पनि पुगेर सहजकर्ता परिचालन गराईएको सिकाइ केन्द्रका सामुदायिक परिचालक अमृता खड्काले बताईन् ।
उक्त सिकाई केन्द्रले सञ्चालन गरिरहेको टोल शिक्षा कार्यक्रमसँगै, विभिन्न रेडियो शिक्षा कार्यक्रम, टेलिभिजन कार्यक्रम लगाएतका वैकल्पिक शिक्षा अहिलेको आवश्यक रहेको नेपाल राष्ट्रिय संगठन राष्ट्रिय समिति सदस्य भागरथी धामी खड्काले बताईन् ।
कोरोना महामारीको सयममा औपचारिक शिक्षा अवरोध भएता पनि विद्यार्थीहरुको निरन्तर सिकाईका लागि वैकल्पिक विधी प्रयोग अनिवार्य भएकोमा उनले जोड दिइन् ।