उच्च अदालत दिपायलका १८ सहित डोटीमा थप ३५ जनामा कोरोना पुष्टी
भागरथी मडै
कार्तिक ३, डोटी ।
उच्च अदालत राजपुर, दिपायलका १८ जना कर्मचारी सहित डोटीमा एकै दिन थप ३५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीद्वारा प्रकाशित विज्ञप्ती अनुसार दिपायल सिलगढी नगरपालिकाका २० जना भनिए पनि उच्च अदालत पनि नगरपालिकाभित्र पर्ने भएकाले ति १८ जनालाई नगरपालिकाका संक्रमितका रुपमा गणना गरिएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीमा रहेका एक थुनुवा पुरुषलाई पनि कोरोना संक्रमण देखिएको छ । उनलाई पनि दिपायल सिलगढी नगरपालिकाको कोरोना संक्रमितको तथ्यांकमा राखिएको छ ।
स्वास्थ्य कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार दिपायल सिलगढी नगरपालिकाका २०, शिखर नगरपालिकाका ३, जोरायल, आदर्श र के.आई.सिंह गाउँपालिकाका १/१, बोगटान फुडसिल गाउँपालिकाका ६ र बडिकेदार गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
जिल्ला अस्पताल डोटी, डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती व्यक्तिहरुमा कोरोना संक्रमण देखापरेको हो ।
