समान कामको समान ज्याला कार्यान्वयन नभएको गुनासो

416

मंसिर १८, डोटी ।

डोटीमा समान कामको समान ज्याला नपाईने गरेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा एक्शन एडको सहयोगमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीले विहीबार आयोजना गरेको महिला श्रमिकको आत्म सम्मान, सुरक्षा, निष्पक्ष र समान ज्याला विषयक नितिगत सम्वाद कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नं. ५ बागठाँटाकी सपना आउजीले प्राय जसो योजनाहरुको अध्यक्ष, सचिव जस्ता मुख्य पदहरुमा पुरुष नै रहने र महिला पुरुषबिचको समान कामको ज्यालामा समानता नरहेको बताईन् ।
त्यस्तै दिपायल सिलगढी नगरपालिका वडा नं. ५ पुन्ना गाउँकी जानकी बिष्टले पुरुषहरुलाई दैनिक ८ सय र महिलालाई २ सयसम्म मात्रै ज्याला दिने गरेको गुनासो पोखिन् ।
त्यस्तै आफुहरुले अहिले गाउँमा एउटा खानेपानी योजनाको निर्माण कार्य गरिरहेको र सो काममा महिला पुरुषको समान ज्यालाको कुरा गर्दा पुरुषहरु रिसाउने गरेको, पुरुष कामदारलाई चुरोट, नास्ता, पुकार आदि चाहिन्छ भन्ने गरेको सुनाईन् ।
महिलाहरुले १६ घण्टासम्म पनि पारिश्रमिक बिना घरायसी काम गरिरहेकोले पनि महिलाहरुमाथि ठूलो बोझ रहेको उनीहरुले बताएका छन् ।
कार्यक्रममा बोल्दै गैरसरकारी सँस्था महासंघ डोटीका अध्यक्ष रघु कठायतले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले केहि न केही मात्रामा हिंसाका घटनामा न्यूनिकरण आउने विश्वास व्यक्त गरे । मुख्यतया संविधानको अक्षरसः पालना गर्न सकेमा हरेक नागरिकको अधिकार सुनिश्चित हुने भन्दै त्यसका लागि नागरिक समाज सँस्थाहरुले सरकारीको स्थायी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
त्यस्तै दिपायल सिलगढी नगरपालिकाको सामाजिक विकास समिति संयोजक एवं वडा नं. ५ का वडा अध्यक्ष मदन भण्डारीले नगरपालिकाले संविधानले प्रदान गरेको अधिकारभित्र रही विभिन्न कार्यविधीहरु बनाएर काम अगाडी बढाएको बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर मल्लले कुनै पनि हिंसाका घटना भएमा प्रहरीलाई खबर गरेमा आफुहरुले कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाए ।
त्यस्तै जिल्ला समन्वय समिति डोटीका उपप्रमूख शशी सोवले संविधान ऐनमा जेजस्तो व्यवस्था भएता पनि व्यवहारमा कार्यान्वयन नहुँदा समस्या रहेको बताईन् ।

No description available.
महिलामाथि हुने विभेद तथा हिंसाका कारण खोजी गरेर कानुनी दायरामा ल्याउन नसक्नु प्रमूख समस्या रहेको उनले बताईन् ।
अब महिलाहरुलाई नै शशक्त बनाएर मात्रै यस्ता समस्याको समाधान हुने उनले जोड दिइन् ।
श्रमिक महिला धनसरा आउजीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम विकास केन्द्र नेपालका कार्यक्रम संयोजक केशव परियारले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिक महिला, महिलाका क्षेत्रमा कार्यरत विभिन्न निकायका प्रतिनीधिहरु, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.