जातीय छुवाछुतका सवालमा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो

318

पौष १६, डोटी ।

जातीय छुवाछुतका सवालमा स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको एक कार्यक्रमका सहभागिहरुले गुनासो गरेका छन् ।
एक्शन एड र सम विकास केन्द्र नेपाल डोटीसँगको सहकार्यमा राष्ट्रिय दलित पत्रकार महासंघ डोटीले आयोजना गरेको जातीय छुवाछुतको सवालमा स्थानीय सरकार तथा दलित अभियन्ताबिच गोलमेच सम्वाद कार्यक्रमका सहभागिहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटी उप–प्रमूख शशी सोवले संविधानले परिकल्पना गरे अनुसार स्थानीय तहहरुले जातीय छुवाछुतका सवालमा काम गर्न नसकेको बबताईन् । नेपालको संविधान बमोजिम स्थानीय सरकारलाई स्थानीय ऐन कानुन बनाउन पाउने अधिकार दिएर पनि त्यतातिर स्थानीय तहको ध्यान नपुगेको बताईन् । साथै प्रदेश सरकारले पनि जातीय छुवाछुत अन्त्यका लागि ऐन कानुनको व्यवस्था गर्न नसकेको उनले गुनासो गरिन् । त्यस्तै हिजोका स्थानीय निकायहरुमा जस्तो अहिले स्थानीय तहमा लक्ष्यित वर्गका लागि निश्चित प्रतिशत तोकेर बजेट विनियोजन तथा कार्यक्रम सञ्चालन हुन नसकेको उनले बताईन् । भन्ने बेलामा अहिले जातीय विभेद र छुवाछुतका घटनामा कमि आएको भनिएता पनि आफु त्यसमा सहमत नभएको भन्दै प्रवृत्ती मात्रै फेरिएको उनले बताईन् ।
त्यस्तै अधिवक्ता शंकरदीप मडैले विभेदका घटनामा पीडितलाई न्याय दिलाउन पीडितको सुरक्षा, न्यायिक निकायमा आवत जावत गर्न उसलाई आर्थिक सहयोग, घटनाबारे आवश्यक प्रमाण संकलनमा सहयोग, न्याय पाउन अपनाउने प्रक्रियाबारे जानकारी दिने खालका काममा सहयोग नुहने भएकाले पनि समस्या रहेको बताए ।
सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले यि विषयमा सहयोग आवश्यक रहेको र त्यसमा अधिकारका क्षेत्रमा क्रियाशील सबैको सहयोग आवश्यक रहेको उनले बताए ।
त्यस्तै सम विकास केन्द्र नेपाल डोटीका अध्यक्ष अधिराज बि.सि.ले अहिलेको विकसित समाजमा पनि जातीय रुपमा समाज विभाजित नै रहेकाले त्यो ग्याप हटाउन स्थानीय सरकार नै शशक्त रुपमा लाग्नुपर्ने आवश्यकता औंल्याए । साथै स्थानीय सरकारले जातीय छुवाछुत अन्त्य गर्न गरिने कार्यक्रमलाई प्याकेज बनाएर कार्यान्वयन चरणमा लैजानुपर्ने सुझाए ।
त्यस्तै दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष कर्ण बिष्टले समाजमा छुवाछुतका धेरै केशहरु अँझै लुकेर रहेकाले ति सवालहरुको अन्त्यका लागि एकपछि अर्काे सवाल समाधान गर्दै जानुपर्ने र आफु त्यसमा लागि परेको बताए ।
त्यस्तै नगरपालिकाको वडा नं. ५ का वडा अध्यक्ष मदन भण्डारीले दलित गैर दलित सँगै दलित दलित भित्र पनि विभेद कायमै रहेको र आफ्नो वडामा आमा समूह बनाएर सचेतना फैलाउने काम भैरहेको उनले बताए ।
कार्यक्रममा प्रमूख अतिथिका रुपमा बोल्दै दिपायल सिलगढी नगरपालिका प्रमूख मञ्जु मलासीले नगरभित्रका सबै समुदायका जनताका मतले आफुहरु निर्वाचित भएकाले जिम्मेवार भएर काम गर्ने बताईन् । जातीय विभेद अन्त्यका लागि मूख्यतया शिक्षा नै पहिलो आवश्यकता भएकाले दलित समुदायको शिक्षाका लागि नगरपालिकाले कार्यविधी नै बनाएर काम गर्ने तयारी थालेको बताईन् । छात्रवृत्ति दिएर हुन्छ वा कोटा निर्धारण गरे हुन्छ वा कसरी हुन्छ ? त्यसबारे आफुहरुले योजना बनाईरहेकाले त्यसमा सहयोग गर्न विभिन्न संघसँस्था, कानुन व्यवसायी, पत्रकार सबैले सघाउन अनुरोध गरिन् ।
कार्यक्रमका अन्य सहभागिहरुले पनि सचेतना र कानुनी कार्यान्वयन जोड दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा पत्रकार झलक पालीले दिपायल सिलगढी नगरपालिकामा दलितको अवस्था सम्बन्धमा आधार पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रमको उद्धेश्यमाथि सम विकास केन्द्र नेपालका कार्यक्रम संयोजक केशव परियारले प्रकाश पारेका थिए ।

No description available.

Leave A Reply

Your email address will not be published.