लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न
पौष २२, डोटी (जोरायल) ।
डोटीको एक स्थापित सहकारी सँस्था लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी सँस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
उक्त सहकारीको केन्द्रिय कार्यालय जोरायलको सिलङ्गीबागमा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा दिइएको जानकारी अनुसार सो सहकारीले पौष २१ गतेसम्म १५ करोड ३ लाख १३ हजार ९ रुपैयाँ १२ पैसाको कारोबार गरिरहेको जनाएको छ ।
जोरायल गाउँपालिकाको वडा न ४ लक्ष्मीनगरको सिलङ्गीबागमा ३ रोपनी आफ्नै जमीन, २ वटा पक्की र एउटा कच्ची भवन रहेको छ ।
हाल उक्त सहकारीले जोरायल गाउँपालिकासङ्गै बडिकेदार गाउँपालिकाको विपिनगरमा सेवा केन्द्र कार्यालय स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ ।
कार्यक्रममा प्रमुख अथितीको रूपमा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सहकारी भनेको सहकार्य गरेर गरिने काम भएको बताए । यस सहकारीमार्फत जोरायल क्षेत्रमा हुने उत्पादनको बजारीकरण पनि गरिनुपर्ने अध्यक्ष ओझाले बताए ।
त्यस्तै नेपाली काङ्ग्रेसका नेता दीपक बिष्टले लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले गरेका कामको प्रशंसा गर्दै अझै प्रगति गरेर राष्ट्रिय स्तरको सहकारी बनाउन शुभकामना दिए ।
कार्यक्रममा उक्त सहकारीका अध्यक्ष लोक बहादुर थापाले सँस्थागत प्रतिवेदन, लेखा समिति संयोजक केशव नेपालीले लेखा प्रतिवेदन र व्यवस्थापक ठक्कर कठायतले वार्षिक कार्यक्रम तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वि.सं. २०६४ सालमा स्थापित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले गरेका कामहरूको मुल्यांकन गर्दै वि.सं. २०६५ सालमा जिल्लामै उत्कृष्ट पुरस्कार प्राप्त गरेको थियो भने २०७४ सालमा प्रदेशको उत्कृष्ट सहकारीका रूपमा तत्कालीन उप-राष्ट्रपति नन्द बहादुर पुनबाट सम्मानित भएको थियो । साधारणसभा कार्यक्रममा जोरायल गाउँपालिकाका जनप्रतिनिधि, सहकारी सँस्थाका पदाधिकारी, शेअर सदस्य, पत्रकार र स्थानीयबासिन्दाको सहभागिता रहेको थियो ।