कोभिड–१९ विरुद्ध दोश्रो चरणको खोप आजदेखि लगाईंदै
फाल्गुन २३, डोटी ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो चरणको खोप अभियान आइतबारबाट देशभर शुरु हुँदैछ ।
पहिलो चरणको खोप अभियान गतमाघ १४ गतेदेखि शुरु भएको थियो । जस अन्तरगत प्राथमिकता चरण १ र चरणमा खोप लगाईएको थियो ।
अहिले दोस्रो चरणको अभियानमा देशभरका ६५ वर्ष माथिका मानिसहरुलाई खोप दिइनेछ । त्यसको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओली आफैंले खोप लगाएर गर्ने कार्यक्रम तय भएको छ । खोप लगाउन प्रधानमन्त्री ओली बिहान १० बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुग्ने जनाईएको छ ।
यसअघि दोस्रो चरणमा ५५ वर्षमाथिका नागरिक, शिक्षक, सार्वजनिक यातायातका चालक तथा सह–चालक लगायतलाई खोप दिने घोषणा गरिए पनि खोपको मात्रा आपुर्ती हुन नसकेपछि ६५ वर्षमाथिकालाई मात्रै खोप दिन लागिएको हो । हिमाली जिल्लाहरुमा भने ५५ वर्ष माथिका सबैलाई खोप दिइने छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणको खोप अभियानका लागि ६ हजार खोप केन्द्र स्थापना गरिएको छ । नेपाल सरकारले भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिँदै आएको छ । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी भएको पाइएको छ । यो खोपको पहिलो डोज लिएको आठदेखि १२ हप्ताभित्र दोस्रो डोज लिनुपर्दछ ।
यस खोप अभियानको डोटीमा पनि तयारी पूरा रहेको स्वास्थ्य कार्यालय डोटीले हिजो शनिबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी सार्वजनिक जानकारी दिएको छ ।

डोटीमा दोश्रो चरणको खोप अभियानमा आदर्श गाउँपालिका, बडिकेदार गाउँपालिका, बोगटान गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिकामा आज आइतबारदेखि तथा दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, के.आई.सिंह गाउँपालिका र पूर्र्वीचौकी गाउँपालिकामा यहि फाल्गुन २५ गतेबाट सञ्चालन गरिने स्वास्थ्य कार्यालय प्रमूख रमेश मलासीले जानकारी दिए ।
डोटीमा पहिलो चरणमा जिल्लाको कूल जनसंख्याको १.९ प्रतिशत जनसंख्याले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरिक्षक सूर्य बिष्टले जानकारी दिए । जसमा लक्ष्यित जनसंख्याको ९५ प्रतिशत मानिसहरुले खोप लगाएको उनले बताए ।
कोभिशिल्ड नाम दिईएको उक्त खोप लगाउँदा केहि मानिसहरुमा सामान्य ज्वरो, टाउको दुःख्ने खालका लक्षणहरु देखिने भएकाले चिकित्सको सल्लाहमा सिटामोल औषधी सेवन गर्नुपर्ने हुन्छ भने कतिपयमा खोपले कुनै असर गर्दैन ।