प्राङ्गारिक कृषि र यसको महत्व
– नरेन्द्र पनेरु
परिचय :
कृषिजन्य वस्तुहरुको उत्पादन गर्दा रसायनिक मल तथा विषादीहरुको प्रयोग नगरी प्राङ्गारिक वस्तुको मात्र प्रयोग गरी तथा कृषि पर्यावरणलाई सन्तुलित राखि खेती गर्ने प्रविधिलाई प्राङ्गारिक खेती भनिन्छ । यस प्रविधिले प्रति इकाई जग्गामा बढी उत्पादन गर्ने भन्दा दीगो कृषि उत्पादनमा जोड दिन्छ । साथै प्राङ्गारिक खेतीले कम्पोष्ट मलको बढी प्रयोग, प्राकृतिक रोग व्यवस्थापन, बाली विविधिकरण, वातावरणीय प्रदुषण न्यूनिकरण, स्थानीय स्रोतको सदुपयोग आदि पक्षलाई बढी जोड दिएको छ । यसको नारा ‘स्वस्थ माटो उत्पादन, स्वस्थ विरुवा, पोषणयुक्त खाना, स्वस्थ जीवन’ रहेको छ ।
प्रकृतिको सबै अङ्गहरुको उचित संरक्षण र सम्वद्र्धन गर्दै मानवीय आवश्यकताको परीपूर्ति गर्न गरिने एउटा दिगो कृषि प्रणाली नै प्राङ्गारिक खेती हो । मानव निर्मित हानिकारक रासायनिक वस्तुहरु (मल, विषादि, हर्मोन आदि) तथा परिवर्तित आनुवांशिक पदार्थको प्रयोग नगरी कृषि उपजको उत्पादन गर्ने पद्दति हो । प्राङ्गारिक कृषिमा माटो मूख्य महत्वको तत्व हो र मूख्य उद्देश्य भनेको माटोको स्वास्थ्य र माटोसँग सम्बन्धित जिवजन्तुको अधिकतम उपयोग गर्नु रहेको छ । नेपालको परिप्रेक्षमा प्राङ्गारिक कृषि नयाँ विषय होईन ।
नेपालमा व्यावसायिक प्राङ्गारिक सन् १९९० बाट सुरु भएको हो । रुपान्तरित प्राङ्गारिक कृषि र प्रमाणित प्राङ्गारिक कृषि बढ्दो क्रममा छ । दशौं पञ्चवर्षिय योजना, कृषि नीति २०६१ तथा ३ वर्षे अन्तरिम योजनाले दिगो प्राङ्गारिक कृषि अवलम्वन गर्न सहकारी तथा नीजि क्षेत्रलाई प्रोत्साहन गरेको छ । एक अध्ययन १२४७ प्राङ्गारिक फार्म दर्ता र १०००० हेक्टर जमीनमा प्राङ्गारिक खेती हुने गरेको छ ।
प्राङ्गारिक कृषिका मापदण्डहरु
१. प्रागांरिक खेती गरिने जमिन :
प्राङ्गारिक खेती गरिने जमिन रासायनिक खेति भन्दा टाढा हुनुपर्ने छ । साधारणतया प्राङ्गारिक र अप्राङ्गारिक खेति गर्ने जमीनको बिचको दुरी सडक भएको खण्डमा ४ मिटर या सडक नभएको अवस्थामा ५ मिटरको बोर्डर ठाँउ हुनुपर्दछ ।
२. रुपान्तरण अवधि :
रुपान्तरण गर्ने अबधि ३ बर्षको हुनेछ । प्रागांरिक कृषि सुरु गरेको अबधिबाट नै रुपान्तरण अवधिको गणना हुन्छ ।
३. बाली उत्पादन :
पाएसम्म र सम्भव भएसम्म स्थानीय प्राङ्गारिक बीउँ बिजनको प्रयोग गर्नुपर्दछ । यस्तो बीउँ पाउन नसक्ने भए रासायनिक माध्यमबाट उत्पादित बीउँ पनि प्राङ्गारीक उत्पादनको लागि प्रयोग गर्न सकिनेछ । तर बिउँलाई कुनै पनि रासायनिक बीउँ उपचार गर्ने रसायनमा मिसाएको हुनुहुँदैन । बाली उत्पादनलाई सहयोग पु¥याउने लाभदायक जिवाणु (राईजोवियम) को प्रयोग गर्न पाईनेछ ।
४. माटो, पानी तथा मलखाद व्यवस्थापन :
बाली उत्पादनमा राम्ररी ९० दिन कुहिएको कम्पोष्ट या गोबर ग्याँसको लेदो बालि पाक्नुभन्दा ३० अगाडि लगाउनु पर्दछ । काँचो कम्पोष्ट या गोबर ग्याँसको लेदोको हकमा बाली पाक्नुभन्दा १२० दिन अगाडि बालीमा लगाउनुपर्दछ । खनिज बस्तुको अभाव भएको खण्डमा राम्ररी बनेको कम्पोष्टप्रति टनमा ५ देखि १० कि.लो. सम्म रासायनिक खनिज पदार्थ मिसाउन सकिने छ । प्राङ्गारिक उत्पादन गरीने जग्गामा बाली चक्र अनिवार्य अपनाउनु पर्दछ र उक्त चक्रमा कोशेबाली अनिवार्य समावेश गरीनुपर्दछ । माटोको अवस्था सुदृढीकरणका लागी वायो फर्टिलाईजरको प्रयोग गर्न पाइन्छ ।
५. रोग, किरा तथा झारपात नियन्त्रण :
कुनै पनि रासायनिक पदार्थ रोग, किरा तथा झारपात नियन्त्रणका लागी प्रयोग पाईने छैन । वनस्पति जन्य धुलो तथा झोलहरु प्रयोग गर्न पाईने छ । खर्कुल (डेरीस इक्लीप्टा) बनस्पतिबाट निकालिएको विषादि तरकारी बारीमा प्रयोग गर्नुपर्ने भए बाली टिप्नुभन्दा ७ दिन अगाडि प्रयोग गर्नुपर्दछ । माटो उपचारका लागि सूर्तिजन्य झोलको प्रयोग गर्न सकिन्छ तर जरे तरकारीको निम्ती सूर्तिको झोल निषेध गरीएको छ ।
६. बालि बिउँ भण्डारण :
भण्डारण गर्ने कोठा तथा भण्डारण गर्ने सामाग्रीमा कुनै पनि रासायनिक पदार्थको सम्पर्क भएको हुनुहुदैन ।
७. पशुपालन :
पशुहरुलाई प्राकृतिक स्वभाव अनुसारको क्रियाकलापमा अवरोध नहुने र स्वाभाविक तरिकाले वढ्न र हुर्कन सक्ने वातावरणमा राखिनु पर्दछ । भ्रुण प्रत्यारोपण र क्लोनिङ्ग गर्न पाईदैन । कृतिम गर्भाधान गर्नुपरेमा प्रमाणीकरण निकायको सल्लाहमा गर्नुपर्नेछ । आनुवंश परिवर्तित पशुहरुको उत्पादन गर्न पाईने छैन । पशु प्रजननका लागि हर्मोनहरुको प्रयोग गर्न पाईने छ । प्रमाणिकरण निकायको परामर्शमा रासायनिक श्रोतका कुनै एण्टिवायोटिक प्रयोग गर्न पाईने छ ।
८. मत्स्य पालन व्यवसाय :
प्राङ्गारिक माछापालनमा प्रयोग हुने पानीमा गह्रौ धातुजन्य तथा अन्य रसायन मिसावटको सम्भावना भएमा पानीको उपचार वा छुट्टै श्रोत र संकलन पोखरीको व्यवस्था हुनुपर्दछ । प्राङ्गारिक माछापालन र अन्य माछापालन गर्ने जलाशय बिचको दुरी ५ मिटरको हुनुपर्दछ । जलाशयको वरिपरि छायाँको व्यवस्था गर्नुपर्दछ । माछाको वृद्धि विकासमा नकारात्मक असर पर्ने गरी उच्च घनत्वमा माछाको संख्या राख्नु हुँदैन । चुन, नीलोतुथो र गोबरको प्रयोग गर्न सकिन्छ । तर यसले माछालाई हानी गर्नुहुँदैन ।
९. मौरीपालन व्यवसाय :
मौरीपालनको हकमा स्थानीय मौरीको हकमा २ कि.मि. र युरोपियन मौरीको हकमा ४ कि.मि. क्षेत्रमा अप्राङ्गारिक खेती गरिएको हुनुहुँदैन । मौरीको मह काढ्दा पुरै निचोरेर काढ्न हुदैन । एण्टिवायोटिक पनि प्रयोग गर्न पाईने छैन ।
१०. प्रशोधन, प्याकिङ्ग :
प्रशोधन गर्ने क्रममा कच्चा पदार्थको कुल तौलको ५ प्रतिशतसम्म खाद्यमा प्रयोग हुने सुगन्ध आउने, संरक्षण गर्ने रासायनिक पदार्थको प्रयोग गर्न सकिनेछ । प्रशोधित उत्पादनमा पानी सफा, शुद्ध र जीवाणु रसायन रहित हुनुपर्दछ । प्रशोधित वस्तुमा ५० प्रतिशतभन्दा बढि पानी रहने अवस्था रहेमा तरल पदार्थको हकमा नेपाल सरकारले तोकेको गुणस्तर अनुरुप स्वीकृत कम्पनी वा स्रोतको पानी प्रयोग गर्नुपर्दछ ।
महत्व :
प्राङ्गारिक उत्पादन प्रयोग गर्नाले मानव स्वास्थमा कुनै प्रतिकुल असर पर्दैन भने रासायनिक मलखाद र विषादीको अत्यधिक प्रयोगबाट वातावरणमा पर्न गएको असरलाई पनि कम गर्न सकिन्छ ।
मानवको औषत आयू वर्षेनी बढ्दै जान्छ । रोगव्याधको प्रकोप कम हुन्छ जसबाट उपचारमा लाग्ने खर्च स्वतः जोगिन्छ । प्राङ्गारिक उत्पादन अन्य उत्पादन भन्दा केही महङ्गो हुने हुँदा विभिन्न हावापानी र सिजन मिलाएर खाद्यान्न बाली, तरकारी, फलफुल बालीको प्राङ्गारिक बिउँ उत्पादन, प्राङ्गारिक मासु वा दुध र दुधका परिकारहरु, तरकारी खेती, फलफुल खेती, मह, माछा, बास्नादार धान, जडीबुटी, हर्बल तेल आदिको उत्पादन निर्यात गरी विदेशी पैंसा सहजै आर्जन गर्न सकिन्छ ।
यीनै प्राङ्गारिक खेती व्यवसायमा यूवाहरुलाई संलग्न गराई दिगो स्वरोजगारको व्यवस्था समेत मिलाउन सकिन्छ । हालका वर्षमा नेपाल सरकारले प्राङ्गारिक खेतीलाई बढावा दिन कृषकहरुलाई केही अनुदानको व्यवस्था गर्नुका साथै यूवाहरुलाई निःशुल्क तालिमको व्यवस्था समेत गरेको छ ।
मुख्य समस्याहरु :
अप्राङ्गारिक खेतीको तुलनामा प्राङ्गारिक खेती गर्न केहि अफ्ठ्याराहरु हुने र उत्पादन पनि केहि कम हुने हुँदा कृषकहरुले यो प्रविधि अपनाउन केहि आनाकानी गरेको पाइन्छ । प्राङ्गारिक खेती गर्न खासै गाह्रो छैन । हामीले हालसम्म अपनाउने गरेका खेती प्रविधिहरु जस्तै भए पनि प्राङ्गारिक खेतीमा रासायनिक मल र विषादीको सट्टामा प्राङ्गारिक मल र प्राङ्गारिक विषादीको प्रयोग गर्नुपर्दछ ।
यदि अप्राङ्गारिक खेती गरेको जग्गामा प्राङ्गारिक खेती गर्ने हो भने करिब पाँच वर्ष प्रांगारिक खेती गरेपछि मात्रै सो जग्गालाई प्राङ्गारिक खेतीको लागी प्रमाणित गर्न सकिने हुन्छ ।
प्राङ्गारिक उत्पादनलाई बजारमा लैजानु पूर्व प्रयोगशालामा परिक्षण गरि प्रमाण पत्र लिएर ट्याग लगाएपछि मात्र सो उत्पादन स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्न योग्य हुन्छ । नेपालका प्राङ्गारिक उत्पादनलाई प्रमाणिकरण गर्न नासा ९ल्ब्क्ब्० ले सहयोग गर्दै आएको छ । प्राङ्गारिक उत्पादन केहि महंगो पर्ने हुँदा ग्राहकहरुले किन्न हिचकिचाउने गरेको पनि पाइन्छ ।
प्रांगारिक उत्पादनमा ग्यारेन्टी गर्न नसक्नु पनि हाम्रो एक ठूलो समस्या हो । गत वर्ष नेपालले उत्पादन गरेको मह परिक्षण गर्दा प्राङ्गारिक उत्पादनमा केहि आशंका भएकोले अधिकांश उत्पादन अन्तर्राष्ट्रिय बजारमा जान रोक लगाइएको थियो ।
भारतमा प्राङ्गारिक खेतीको लागि सरकारले राम्रो अनुदानको व्यवस्था र उत्पादनको बजारको उचित व्यवस्था गरेको कारण कृषकहरुमा प्राङ्गारिक खेतीमा आकर्षण बढेको पाइन्छ भने नेपालमा यी सबै कुराको ग्यारेन्टी हुन सकेको छैन ।
(लेखक कृषि ज्ञान केन्द्र डोटीका प्रमूख हुन् ।)