डोटीमा प्रशासनद्वारा फेरी बज्यो कोरोनाबारे सतर्कताको घण्टी ! (सूचना सहित)

897

चैत्र ११, डोटी ।

जिल्ला प्रशासन कार्यालय डोटीले कोरोना भाईरस (कोभिड–१९) बारे फेरी सतर्कता अपनाउन सार्वजनिक सूचना सहित सतर्कताका लागि अनुरोध गरेको छ ।

पछिल्लो समयमा छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको भन्दै सुरक्षा मापदण्ड अपनाउन आग्रह सहित प्रशासनले बुधबार सार्वजनिक सूचना जारी गरेको हो ।

नजिकै आईरहेको होली लगाएत यस क्षेत्रको महत्वपूर्ण चाड बिशु पर्व मनाउन र कोभिडको बढ्दो संक्रमणका कारण भारतबाट मानिसहरु नेपाल फर्कने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनिकरणका लागि सबैले सजग एवं संवेदनशील भई तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड कडाई साथ पालना गर्न सूचनामा भनिएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम एवं सम्भावित जोखिम न्यूनिकरणका लागि आवश्यक पूर्व तयारी गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकबाट गरिएका ६ बुँदे निर्णयहरु कार्यान्वयन गर्न गराउन डोटीका प्रमूख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

भारतबाट घर फर्किने व्यक्तिहरुले आफ्नो परिवारजन तथा समुदायको सुरक्षार्थ आफै सजक भई तोकिएको न्यूनतम अवधीसम्म क्वारेन्टाइन/सेल्फ आईसोलेसनमा बस्ने, स्वास्थ्य सम्बन्धी कुनै समस्या वा संक्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य सँस्थामा सम्पर्क गरी स्वास्थ्य परामर्श तथा सहायता लिने, होली, नव वर्ष, विशु लगाएतका पर्वहरु मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सिमित संख्यामा परिवारका सदस्यहरुबिच मात्रै मनाउने, साथै पर्वहरुमा मानिहरु जम्मा भई गरिने शुभकामना आदान प्रदान, घरघरमा खेलिने होली जस्ता साँस्कृतिक कार्यक्रम, नाचगान जस्ता गतिविधि नगर्न नगराउन भनिएको छ ।

त्यस्तै ठूलो संख्यामा सहभागिहरु भेला भई गरिने बैठक, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न, पूर्व निर्धारित अत्यावश्यक कार्यक्रमहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल, रेष्टुरेण्ट, डान्सबार लगाएतका मानिसको भिड हुने व्यवसायहरु राति अबेरसम्म सञ्चालन नगर्ने/नगराउने, सम्पूर्ण कार्यालय/निकाय, संघसँस्था, शैक्षिक सँस्थाहरुले दैनिक सेवा प्रवाह एवं कार्य सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने, भिडभाड नहुने गरी सेवा प्रवाह गर्ने/गराउने र कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई नियन्त्रण एवं रोकथामका लागि भिडभाडमा नजाने, सामाजिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने, साबुन पानीले बारम्बार हात सफा गर्ने तथा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालना गरी आफु र अरुलाई संक्रमणबाट बचाउन आग्रह गरिएको छ ।

गत वर्ष चैत्र ११ गतेदेखि नै कोरोनाका कारण देशमा लक डाउन गरिएको थियो । क्रमिक रुपमा लकडाउन हटाईनुका साथै पछिल्ला दिनहरुमा भने जनजीवन सामान्य अवस्थामा फर्किसकेका थियो । पुनः कोभिड–१९ को जोखिम बढेको भन्दै यस वर्ष चैत्र ११ गतेबाट नै डोटीमा कोभिड–१९ बारे उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

 

 

Leave A Reply

Your email address will not be published.