डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भुमी आयोगको अभिमुखिकरण सम्पन्न
चैत्र १९, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा भुमी सम्बन्धि समस्या समाधान आयोगको अभिमुखिकरण कार्यक्रम विहीबार सम्पन्न भएको छ ।
भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भुमी सम्बन्धि समस्या समाधान आयोग, जिल्ला समिती डोटीले गाउँपालिकामा अभिमुखिकरण सम्पन्न गरेको हो ।
गाउँ सभाका सदस्यहरू र आयोगको पालिका स्तरीय लगत संकलन इकाईका कर्मचारीहरु सहभागी कार्यक्रममा भुमी सम्बन्धि समस्या समाधान आयोग, जिल्ला समिती डोटीका अध्यक्ष गणेश बहादुर बिष्टले आयोगको उद्देश्यमाथी प्रकाश पारेका थिए भने आयोगका विज्ञ सदस्य झलक पालीले स्थानीय तहको भुमिका, भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन प्रक्रिया, प्रदान गरिने जमीन, लाग्ने दस्तुर लगाएतको विषयमा सहजीकरण गरेका थिए । अभिमुखिकरण कार्यक्रमको समापनमा बोल्दै बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले भुमी सम्बन्धि आयोगमार्फत हुन लागेको काममा स्थानीय सरकारको सबैभन्दा बढी भुमिका रहेकोले आफुले उच्च प्राथमिकता दिएर काम अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
भुमी सम्बन्धि समस्या समाधान आयोग, जिल्ला समिती डोटीले जिल्लाका स्थानीय तहहरुमा अभिमुखिकरण गर्ने क्रममा चैत्र ९ गते आदर्श गाउँपालिका, चैत्र ११ गते दिपायल सिलगढी नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यस्तै भोलि शुक्रबार के.आई.सिंह गाउँपालिकामा अभिमुखिकरण कार्यक्रम गर्नेछ भने यहि चैत्र २५ गतेभित्र बाँकी सम्पूर्ण स्थानीय तहमा अभिमुखिकरण गरिसक्ने योजना रहेको छ ।
यसबिच आजै बोगटान फुड्सिल गाउँपालिकामा लगत संकलन इकाईको पनि स्थापना गरिएको छ ।
सो गाउँपालिका अध्यक्ष कमल गड्सिला र आयोगका जिल्ला अध्यक्ष गणेश बहादुर बिष्टले इकाइको संयुक्त रूपमा समुद्घाटन गरेका हुन् ।