पत्रकार महासंघ निर्वाचन : डोटीमा बामपन्थी संगठनको संयुक्त प्यानल, युनियनमा अँझै जुटेन सहमती

474

चैत्र २३, डोटी ।
यतिबेला देशभर नेपाल पत्रकार महासंघको चुनावी सरगर्मी बढेको छ । पत्रकारहरुका विभिन्न पेशागत संगठनहरु आ–आफ्नो जितको दाउमा दौडधुपमा रहेका छन् ।
खास गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मान्यता नपाएर एमाले र माओवादी केन्द्र ब्युँतिएको अवस्थामा ति दुइ पार्टी नजिकका पत्रकारहरुका संगठन प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबिचको मतभेद र एमालेभित्र पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षधर विवाद प्रेस चौतारीभित्र उदाङ्गो रुपमा देखिएको छ । यसै मौका छोपेर नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनले माधव कुमार नेपाल समर्थक प्रेस चौतारी र प्रेस सेन्टर लगाएत विभिन्न संघ–संगठनहरुसँग एलायन्स गरेर केन्द्रमा विपुल पोखरेल नेतृत्वमा प्यानल घोषणा गरी चुनावी मैदानमा छ । उता प्रेस चौतारी नेपाल र केहि साना संगठनको एलायन्समा प्रेस चौतारी नेतृ निर्मला शर्मा नेतृत्वमा प्यानल घोषणा गरेर चुनावमा होमिएका छन् ।
युनियनको सुदूरपश्चिममा पनि सोहि बमोजिम प्यानलको उम्मेदवारी छ । युनियन नेतृत्वको एलायन्समा नेपाल पत्रकार महासंघका निवर्तमान प्रदेश महासचिव योगेश रावल अध्यक्ष रहेको प्यानल चुनावी मैदानमा छ भने प्रेस चौतारी नेपालको ओली पक्षधर टिम कृष्ण ओली अध्यक्षको टिम एक्लै भए पनि चुनावी मैदानमा छ ।
यता डोटीमा भने केन्द्रिय र प्रदेशको एलायन्सले हावा खाएको छ । विगत लामो समयदेखि महासंघमा गैर पत्रकारहरु समेत राखेर सदस्य संख्या बढाउँदै बामपन्थीलाई पेलेर लैजाने रणनीतिमा रहेको प्रेस युनियनभित्रको विवाद मिलेको छैन ।
यहि चैत्र २० गते सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार चैत्र २२ गते आइतबार ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दिने समय थियो । तर युनियनको विवादका कारण उक्त समय राती ८ बजे सारियो र फेरी राती ९ बजेसम्म सारिएको थियो । त्यतिञ्जेल पनि नमिल्दा चैत्र २३ गते बिहान ११ बजेसम्मका लागि उम्मेदवारी दिने समय सारिएको निर्वाचन समितिका संयोजक टोपराज पौडेलले जानकारी दिए ।
यता बामपन्थी संगठनहरु प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले भने संयुक्त उम्मेवारी चैत्र २२ मै दर्ता गरेको छ । अध्यक्षमा रोजेन्द्र जोशी, उपाध्यक्षमा नवराज जोशी, सचिवमा कर्ण चन्द र कोषाध्यक्षमा सुवास नेपाली र समावेशी सह सचिवमा भागरथी मडैले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्यहरुमा तेज बहादुर ओली, शुशिला पन्त र लक्ष्मी खड्काले उम्मेदवारी दिएका छन् ।
चैत्र २५ गते हुने निर्वाचनका लागि डोटीमा ८९ मतदाता रहेका छन् ।

Leave A Reply

Your email address will not be published.