समस्याको चाङमा डोटीको खेलकुद
असार २०, डोटी ।
डोटीको खेलकुद क्षेत्र समस्या नै समस्याको चाङमा रहेको जिल्ला खेलकुद समिति डोटीका नव नियुक्त अध्यक्ष नरेश मलासीले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले गत जेठ ९ गते जिल्ला खेलकुद समिति डोटीको अध्यक्षको जिम्मेवारी दिएपश्चात पहिलो पटक आइतबार पत्रकार सम्मलेलन गर्दै अध्यक्ष मलासीले यस्तो बताएका हुन् ।
मुलूक संघीय संरचनामा जानुपूर्व राष्ट्रिय खेलकुद परिषदबाट जिल्ला खेलकुद विकास समितिहरुमा जिम्मेवारी दिने गरिएकोमा संघीय संरचनामा उक्त जिम्मेवारी प्रदेशलाई दिईएको छ ।
नयाँ कानुनी प्रावधान र नीतिगत व्यवस्थामा ढिलाई भएका कारण सुदूरपश्चिमका ९ जिल्लाहरुमा जिल्ला खेलकुद समितिले अँझै पूर्णता पाउन नसकेको र त्यसको असर आफुले पनि खेप्नुपरेको उनले बताए ।
त्यस्तै जिल्ला खेलकुद समिति डोटीको कार्यालय कर्मचारी अभाव, भौतिक संरचनाको अभाव, खेल सामाग्रीको अभाव, खेल प्रशिक्षकको अभावमा गुज्रिरहेको आफुले पाएको उनले बताए ।
यसका साथै कार्यालयको इतिहासबारे कुनै औपचारिक रेकर्ड तथा दस्ताबेज नपाएको पनि उनले बताए ।
वि.सं. २०३८ सालमा स्थापित कभर्ड हल र दुइ कोठाको साँगुरो भवनमा कार्यालय व्यवस्थापन गर्न पनि कठिनाई भएको साथै पछिल्लो समयमा वर्षाैंदेखि रंगरोगन समेत हुन नसकेको भवनलाई बिना बजेट उदारो भए पनि व्यवस्थित गर्न आफु लागिपरेको उनले बताए ।
जिल्लाका ९ वटा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले खेलक्षेत्रलाई अगाडी बढाउन सहयोग गर्नुपर्ने उनले बताएका छन् ।
जिल्लामा पर्याप्त खेलमैदानको पनि अभाव रहेको उनले बताए ।
डोटीले विभिन्न खेल विधामा अन्तराष्ट्रिय स्तरसम्म समेत सहभागिता जनाएको इतिहास भएकाले आगामी दिनमा सोको निरन्तरताका लागि सरकारी तथा गैरसरकारी र निजी क्षेत्रको पनि खेल क्षेत्रमा सहयोग आवश्यक भएको उनले बताए ।
प्रदेशमा खेलकुद सम्बन्धी कार्यविधी परिमार्जनको अवस्थामा रहेकाले छिटो पूर्णता दिई जिल्ला खेलकुद समितिलाई पनि सबै पदाधिकारीको जिम्मेवारी तोक्न र प्रदेशबाट उचित बजेट व्यवस्था गरी काम अगाडी बढाउन पत्रकारसम्मेलनमार्फत उनले सम्बद्ध पक्षसँग माग गरेका छन् ।
युवामाझ लोकप्रिय मानिने अध्यक्ष मलासीले यतिबेला सुदूरपश्चिमको मूख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाटै, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी डोटीबाटै र आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज पनि डोटीकै भएकाले आफु थप आशावादी रहेको उनले बताए ।
खेल क्षेत्रलाई अगाडी बढाउन जिल्लाका ९ वटै स्थानीय तहहरुसँग समन्वय र सहकार्य गर्दै जिल्लाभित्रका सम्भावित खेल विधा र खेलाडीको विकास तथा पहिचानका लागि पनि आफुले योजना बनाईरहेको उनले बताएका छन् ।
यसमा पत्रकारिता क्षेत्रबाट पनि रचनात्मक दवाव र सुझावको पनि आफुले अपेक्षा गरेको उनले बताए ।