एसपी मल्ल भन्छन–‘१ के.जी.बढी सुन र १७ लाख बढी नगद बरामद घटना बुझ्न जिप्रका आउनुस सबै प्रमाण क्लियर गर्छौं’
श्रावण ८, डोटी ।
गत वर्ष माघ १४ गते डोटीमा प्रहरीले बरामद गरेको १ के.जी. १ सय ग्राम सुन र नगद १७ लाख ४७ हजार रुपैंया फेरी चर्चा र चासोको विषय बनेको छ ।
यस घटनाबारे प्रहरीले सत्यतथ्य सार्वजनिक गर्न नसकेको विभिन्न खालका गुनासासँगै करिब ६ महिनापछि मिडियामा फेरी यो विषय उठान भैरहेको छ ।
वि.सं. २०७७ साल असोजतिर प्रहरी प्रधान कार्यालयको इन्टरपोलमार्फत भारतमा करिब ८२ लाख बराबरको चोरी भएको जानकारी आएदेखि यो विषय प्रहरी अनुसन्धानको विषय बनेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कान्तीराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले वि.सं. २०७७ माघ १४ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४ कुलपातेबाट एक महिलाको साथबाट रु.१७ लाख ४७ हजार बरामद गर्न सफल भयो ।
डोटीकै के.आई.सिंह गाउँपालिका वडा नं. ६, भिताडी गाउँकी अन्दाजी वर्ष ६० कि महिला काली भुलबाट उक्त रकम बरामद भएको थियो । काली भुलका भतिजा गणेश भुल सहित जग्गा किन्न तराईतिर जान लागेको अवस्थामा उनिहरुबाट प्रहरीले उक्त रकम बरामद गरेको हो ।
विशेष सोधपुछ र अनुसन्धानबाट ति महिलाको घरमा लुकाइछिपाई राखेको १ के.जी. १ सय ग्राम सुन समेत प्रहरीले सोही दिन बरामद गरेको थियो ।
प्रहरी श्रोतका अनुसार उक्त सुन र रकम के.आई.सिंह गाउँपालिकाकै झिंगाबस्तीका नरी भुलको रहेको खुल्न आएपछि थप अनुसन्धान अगाडी बढाइएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा लिखित कुनै उजुरी नभएको तर इन्टरपोलमार्फत सूचना आएका कारण प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखासँगको समन्वयमा वि.सं. २०७७ फाल्गुन २४ गते जिप्रका डोटीका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर मल्लको जिम्मामा इन्टरपोल शाखामै उक्त सुन र रकम बुझाईएको प्रहरीको भरपाईबाट देखिन्छ ।
हेरौं यो भरपाई –

तत्पश्चात प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको चलानी नम्बर ६३८ को पत्रका आधारमा उक्त सुन र रकम बुझाउन गएका जिप्रका डोटीका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर मल्लको रवाना फिर्ता गरेको पनि पत्रमा देखिन्छ ।
हेरौं के छ पत्रमा –
तर यि सूचनाहरु प्रहरीले सार्वजनिक नगरेकाले प्रहरीमाथि शंका गर्न सकिने समाचारहरु बाहिरिए सँगै नजर अनलाइनको टिमले जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्लसँग घटनाको अन्तर्य के हो त भनी विभिन्न प्रश्न गरेका थियौं ।
जुन अन्तरवार्ता यस्तो छ –

१) प्रहरीले बरामद गरेको सुन र रकम नेपाली नागरिक वा भारतीय नागरिक कसको हो ? साथै यो घटना पारदर्शी रुपमा सार्वजनिक नगरेर यथार्थ सूचना दिन प्रहरीले आनाकानी गरेको आरोप छ नि ?
उत्तर : सर्वप्रथम त यस घटनाबारे प्रहरीले यथार्थ सूचना दिन आनाकानी गरेको भन्ने बारेमा हामीले चाहिं जसले चासो देखाएर आउँछ, जो सम्बन्धीत पक्ष हो, हामीले उनिहरुलाई सक्कलै मिसिल समेत देखाएका छौं, जुन दिन नमिल्ने हो । दिन मिल्ने कागजातहरु फोटोकपी गरेर दिएका समेत छौं । हामीलाई प्रहरी प्रधान कार्यालयबाट आएको सूचनाका आधारमा यो सुन इण्डियन नागरिकको हो । इण्डियाको प्रहरीमा रिपोर्ट गरेर त्यहाँको प्रहरी हेडक्वार्टर हुँदै सिआईबी, इन्टरपोल हुँदै नेपाली इन्टरपोलमा आएर डोटी प्रहरीलाई आएको सूचनाका आधारमा हामीले कारवाही अगाडी बढाएका हौं । बाहिर–बाहिर प्रहरीको सँस्थालाई बद्नामित गर्ने गरी आएका कुराहरु सबै झुट् हुन् । हाम्रो त्यसमा घोर आपत्ती पनि छ । हामीले जे गरेका छौं, जे सार्वजनिक गरेका छौं, त्यो नै सत्य हो । हामी कहाँ आएर सत्यतथ्य बुझ्न हाम्रो आग्रह पनि छ ।
२) बाहिर समाचारमा आए अनुसार पीडितको २ के.जी.सुन र नगद १९ लाख भारतीय रुपैंया सहित ठूलो परिमाणमा चोरी भएको र उक्त सुन विभिन्न ठाउँमा विक्रिवितरण भएको भन्ने सुनिन्छ नि ? प्रहरी अनुसन्धानले के भन्छ ?
उत्तर : यो घटनामा विभिन्न ठाउँका मानिसको संलग्नता रहेको सूचनामा उल्लेख छ । भारतको महाराष्ट्र मुम्बइमा सेक्युरिटी गार्डले ‘मेनुपुलेशन’ गरेर चोरी भएको भन्ने बुझिन आएको छ । जति सुन र पैंसा हरायो भन्ने आएको छ, त्यसबारे भारतमा परेको मराठी भाषाको जाहेरी पनि आएको छ । तर यो घटनामा डोटी, अछाम, कालीकोट र इण्डियाका मानिसहरु समेतको संलग्नता देखिएको र ठूलो सञ्जाल भएकाले ठूलै मात्रामा चोरी भएको हुनसक्ने आँकलन गर्न सकिन्छ । तर हामीले डोटीमा जति सुन र रकम बरामद गर्न सफल भयौं, त्यति नै साँचो कुरा हो ।
३) डोटीमा सुन र रकम सहित समातिएका काली भुल र उनका भतिजा गणेश भुल सहित त्यसै दिन पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याईयो, तर उनिहरुलाई गहिरो अनुसन्धान नगरेरै भोलिपल्टै छोडिदिएको भन्ने गुनासो पनि सुनियो नि त ?
उत्तर : अब यो अनुसन्धान भन्ने कुरा पुलिसले गर्ने हो कि, यो बाहिर अनावश्यक जिज्ञासा गर्नेहरुले हो ? प्रहरीले अनुसन्धान गर्दा चाहिने सबै सूचना पाईसकेपछि अनावश्यक मान्छे थुनेर दुःख दिनु राम्रो होइन । कसैलाई इन्ट्रेस्ट मिलेको छैन भन्दैमा हामीले कसैलाई थुनेर दुःख दिंदैनौं । आवश्यक सोधपुछ र मेशिनको प्रयोग समेतका आधारमा बयान लिएर विश्वसनीय एवं पर्याप्त सूचना लिईसकेपछि उनिहरुलाई तारेखमा छोडिएको अवस्था हो ।
४) यति ठूलो मात्रामा चोरीको सुन र रकम बरामद हुँदा पनि प्रहरीद्वारा पत्रकार सम्मेलनमार्फत किन सार्वजनिक गरिएन ?
उत्तर : अब यसमा यो अभ्यास गरिन्थ्यो । तर मैले अघि पनि भने अछाम, कालिकोट लगाएत घटनामा संलग्न अन्य विभिन्न मानिसहरु, भारतमा रहेका मानिसहरु नेपालमा नआउने साथै उनिहरु भाग्ने सम्भावना भएकाले सकभर हामीले यो घटनालाई बढी हल्ला नगरेको हो । यद्यपी जसले चासो राखेका थिए, उनिहरुलाई चाहिँ हामीले जानकारी दिएका थियौं । यस घटनालाई बढी प्रचारप्रसार नगर्नुको कारण भनेकै अनुसन्धान प्रभावित नहोस् भनेर नै हो ।
५) प्रहरी श्रोतको दावी अनुसार बरामद भएको सुन र रकम जुन व्यक्तिको हो, उसले पाईसकेको भन्ने छ । तर सम्बन्धीत मान्छेले अहिलेसम्म नपाएको भन्ने आएको छ त ?
उत्तर : यो खास के हो भनेदेखि हामी पनि आफ्नो सिमाभित्र रहनुपर्छ । हामीले जे जति सुन र रकम बरामद गर्यौं, त्यो हाम्रो आधिकारिक च्यानलमार्फत हाम्रो अफिसको सिनियर अफिसर उपसचिवलाई नै जिम्मा लगाएर जुन च्यानलबाट चोरीको सूचना हामीलाई आएको थियो, त्यहीं लगेर बुझाएका छौं । त्यो बुझाउनु अघि इण्डियाको प्रहरी, इण्डियन एम्बेसीमार्फत हाम्रो प्रहरी हेडक्वार्टर, सिआईबीको च्यानलसमेतको रोहवरमा बुझाईएको छ । यसबारे सबै कागजात हाम्रो प्रहरी हेडक्वाटरमा सुरक्षित छ । हामीले प्रहरी हेडक्वाटरलाई बुझाएको सबै कागजात हामीसँग प्रमाण रहेको छ । जसले चासो राखेका छन् तिनलाई हामीले दिएका पनि छौं । हामीले बुझाईसकेको सामान पीडित व्यक्तिले पाए/नपाएको स्वयं इण्डियन एम्बेसीले प्रमाणित गरेर बुझाएको कागजात प्रहरी प्रधान कार्यालयबाट प्रहरी प्रवक्ता र इन्टरपोलका डिएसपी सावसँग कुरा गरिसकेको छु । बुझाईसकेको लिखित प्रमाण पनि मलाई जिल्लामा आउँदैछ । यसरी सरकारी च्यानलबाट भएको काम सरकारी तवरबाट बुझाएको हामीले प्रमाण सुरक्षित राखेका हुन्छौं ।
६) अनि प्रहरीले बरामद गरेको सुन र नगद रकममध्ये जसबाट रकम बरामद भएको हो, ति महिलाले आफुबाट सुन बेचेको २० लाख र १ लाख व्यक्तिगत समेत गरेर २१ लाख लगेको तर प्रहरीले नगद १७ लाख ४७ हजार मात्रै देखाएर झुटा बोलेको भन्ने पनि आयो नि ?
उत्तर : प्रहरीले बरामद गरेको रकम त्यो महिला काली भुलकै सामुन्नेमा घटनास्थलमै सबै पैंसा गनेका थियौं । कुनै पनि घटनामा उपलब्ध जनप्रतिनिधी, अन्य मानिस सहितको सामुन्नेमा भरपाई गरिन्छ । त्यो बेलामा उनले बुझेको भरपाइ हामीसँगै छ ।हामीले बरामद गरेका नोटको नम्बर समेत कोड गरेर लेखिपठाएका छौं । त्यहि बरामतको कागजात हामीले आफ्नो मोजको कार्यालयमा लगेर पेश गरेका छौं । त्यो बाहेकको थप पैंसा कहाँबाट आयो त ? घटनास्थलमा भरपाई कागज बनाउँदा सहिछाप गर्ने, अहिले बढी पैंसा हो भन्ने ? कहाँ थियो त त्यो पैंसा ? बरामद हुनु पहिल्यै अरु कसैले लगेको भए थाहा भएन ।
७) प्रहरीले यस घटनामा अनुसन्धान जारी रहेको भनेको छ, यो अनुसन्धान कहिलेसम्म पूरा हुन्छ र अनुसन्धानका उपलब्धीहरु के पछि गएर सार्वजनिक हुनेछन् ?
उत्तर : यस घटनाका बारेमा धेरै ठाउँका मानिस संलग्न रहेको देखिए पनि डोटीको हकमा अरु थप केहि नयाँ कुरा पत्ता लाग्न सक्छ भनेर अनुसन्धान क्लोज नगरी ओपन राखेका छौं । इण्डियामा धेरै सम्पत्ती हराएको हुनसक्छ । जानकारी अनुसार ८२ लाख बराबरको चोरी भएको भन्ने आएको छ । इण्डियन प्रहरी र इण्डियन एम्बेसीको हामीलाई थप अनुसन्धान गर्न निरन्तर प्रेसर छ । तसर्थ अनुसन्धान जारी रहेकाले बाहिर सार्वजनिक गर्ने काम कमै गरिएको हो । यसका अलावा बाहिर विभिन्न खालका जिज्ञासा राख्नेहरु छन्, तिनिहरुलाई कहाँनिर सूचना अपुरो देखिन्छ, त्यहींनेर सम्पर्क गर्न अनुरोध छ । हामी मिसिल, मुचुल्का, भरपाई सबै ट्रान्सपरेन्ट हुने गरी देखाएर क्लियर गर्नेछौं ।