दार्चुलाको तुइन प्रकरण : अनेरास्ववियु डोटीद्वारा विरोध प्रदर्शन
श्रावण १६, डोटी ।
दार्चुलाको ब्यास गाउँपालिका २ का ३५ वर्षे युवा जय सिं धामीले तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले हिजो शुक्रबार तुइनको डोरी काट्दा धामी वेपत्ता भएको विरोधमा अनेरास्ववियु डोटीले सिलगढीमा विरोध प्रदर्शन गरेको छ ।
घटनाको छानबिन गरि दोषीलाई कडा कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीको अगाडि देखि चर्का नाराबाजी सहित जिल्ला प्रहरी कार्यालय नजिकै सडकमा कोण सभाको आयोजना गरेको हो ।
नेपाल र भारतको सिमा नाकामा भारतीय सुरक्षाकर्मीको दादागिरीका कारण नेपाली युवाले ज्यान गुमाउनुपरेको भन्दै अनेरास्ववियुले चरणबद्ध संघर्ष गर्ने अनेरास्ववियुका जिल्ला नेता वीर बहादुर बिष्टले बताए ।
एक देशको सुरक्षाकर्मीले अर्को देशको नागरिकको अमानवीय तरिकाले ज्यान लिएकाले आफ्नो देशको नागरिक सुरक्षा गर्न नसक्ने सरकारका प्रमुखले कुर्सी छोड्नुपर्ने पनि विद्यार्थी नेता बिष्टले बताए ।
शनिबार सांकेतिक विरोध मात्रै गरिएको तर दार्चुलाको तुइन प्रकरण लगाएत भारतीय विस्तारवाद विरुद्ध अनेरास्ववियुले सदैव संघर्ष गर्ने अर्का विद्यार्थी नेता धन बहादुर कुमालले बताए ।