डोटी जिल्ला स्तरीय बहुसरोकारवाला मञ्चको बैठक सम्पन्न
मंसिर २८, डोटी ।
डोटी जिल्ला स्तरीय बहुसरोकारवाला मञ्चको बैठक मंगलबार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति डोटीको समन्वय र सहकार्यमा सम विकास केन्द्र (इडिसी) नेपाल डोटीको आयोजनामा मञ्चको बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा सम विकास केन्द्र नेपालले डोटीमा सञ्चालन गरिरहेको परिवर्तन परियोजनाबारे जिल्ला कार्यक्रम संयोजक महेश परियार र महिलाको न्यायमा पहुँच परियोजनाबारे परियोजना संयोजक कृष्ण बहादुर थापाले हालसम्म भएगरेका कामहरु र उपलब्धीहरु बैठकमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमूख रामबहादुर ऐरले इडिसीले डोटी जिल्लामा पुर्याएको योगदान र गरेका कामहरुको प्रशंसा गरेका छन् । साथै आफुहरुको पदावधी पनि सकिनै लागेको र निर्वाचनको समय पनि नजिक आउनै लागेकाले निर्वाचन आचार संहिता लागु हुनपूर्व नै महत्वपूर्ण कामहरु भए समयमै गर्न सबै संघसँस्थाहरुलाई उनले आग्रह गरेका छन् ।

बैठकलाई सम्बोधन गर्दै डोटीका प्रमूख जिल्ला अधिकारी शंकर बहादुर बिष्टले गैर सरकारी सँस्थाहरुले विभिन्न हिसाबले समाजमा ठूलो भूमिका खेलेको बताउँदै इडिसीले सञ्चालन गरेका कार्यक्रमले पनि स्थानीय सरकारलाई जवाफदेही, पारदर्शी बनाउन लगाएत क्षेत्रमा काम गरेकाले थोरै भए पनि महत्वपूर्ण सहयोग पुगेको बताए ।
सबैभन्दा महत्वपूर्ण कुरा नागरिक सचेतना भएकाले यसमा सरकार जसका लागि हो, जसलाई सेवा प्रदान गर्नुपर्ने हो, उ नै सचेत नभएसम्म उपलब्धी हुन नसक्ने प्रजिअ बिष्टले बताए ।
इडिसीले सञ्चालन गर्ने कार्यक्रमबारे जिल्ला स्तरीय बहुसरोकारवाला मञ्चमा जानकारी गराउने, आवश्यक सुझाव सल्लाह लिने र सोही बमोजिम आगामी कार्यक्रम अगाडी बढाउन बेलाबेलामा मञ्चको बैठक आयोजना गर्ने गरेको सम विकास केन्द्र नेपालका अध्यक्ष अधिराज बिसीले बताए ।
जिल्लाभित्र सञ्चालन हुने कतिपय संघसँस्थाबाट सञ्चानल हुने कार्यक्रमबारे सरोकारवालाहरुलाई खासै जानकारी नै नहुने भए पनि इडिसीले भने महत्वपूर्ण समन्वय र सहकार्य गर्दै सँस्थालाई स्थापित गरेको छ ।
