एमाले डोटीको आठौं जिल्ला अधिवेशन आज राजपुरमा हुँदै
पुस २३, डोटी ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको आठौं जिल्ला अधिवेशन आज शुक्रबार उद्घाटन हुँदैछ ।
राजपुरमा आयोजना हुने अधिवेशनको तयारी करिब पूरा भैसकेको नेकपा एमाले डोटीका अध्यक्ष चक्र मल्लले जानकारी दिए ।
अधिवेशनमा मूल आयोजक कमिटिका १४८ जना तथा वडा–वडाबाट छनौट गरिएका ३८६ जना र मनोनित २७ जना गरी ४१३ जना प्रतिनिधीहरु सहभागि हुँदैछन् ।
अधिवेशनलाई संविधान सभा सदस्य तथा नेकपा एमाले पोलिट ब्युरो सदस्य एवं डोटी जिल्ला इन्चार्ज गौरी ओलीले प्रमूख अतिथिका रुपमा संवोधन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनको उद्घाटन शत्र राजपुरमा खुल्ला चौरमा आयोजना गर्ने र बन्द शत्र सेती सभाहलमा आयोजना हुने जनाईएको छ ।
अधिवेशनका लागि जिल्लाका ९ वटै पालिकाहरुबाट अधिकांश प्रतिनिधीहरु आइसकेको र केही प्रतिनिधीहरु आउने क्रम जारी रहेको जनाईएको छ ।
एमालेको विधान महाधिवेशनबाट पारित विधान बमोजिम आगामी कार्यकालका लागि डोटी जिल्ला कमिटि पनि चयन गर्नेछ ।
पार्टीको नेतृत्व र कमिटि चयनका विषयमा एमालेभित्र आकांक्षीहरु धेरै भए पनि खुल्ला चर्चामा दावी प्रस्तुत भने गरेको देखिदैंन ।
सकभर नेतृत्व सर्वसम्मत चयन गर्ने तयारी एमालेको छ ।
अधिवेशन सम्पन्न गर्न एमाले सुदूरपश्चिम प्रदेश सदस्य पदमराज भट्टको नेतृत्वमा निर्वाचन मण्डल तोकिएको छ ।
यस अघि पार्टीभित्र केन्द्रदेखिको चरम विवाद विस्तारै मत्थर हुँदै गएपछि केहि दिन अघि मात्रै केन्द्रिय महाधिवेशन सम्पन्न गरेको एमालेले देशैभरका जिल्लामा आज एकैसाथ अधिवेशन गरिरहेको छ ।
एमाले डोटीको अधिवेशनमा विभिन्न साँस्कृतिक प्रस्तुती सहित उद्घाटन शत्र आयोजना गरिने साँस्कृतिक संयोजक प्रेम नेपालीले जानकारी दिए ।
मध्यान्ह १२ बजेबाट आयोजना हुने अधिवेशन भोलिसम्म चल्नेछ ।