नेपालको जनसंख्या २ करोड ९१ लाख, लिपुलेक-कालापानीको जनसंख्या पनि समेटियो

303

माघ १२, डोटी ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जसमध्ये महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ पुगेको छ ।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ४ सय ५ रहेकोे थियो ।
अघिल्लो पटकको तुलनामा जनसंख्याको वृद्धिदर घटेको विभागले जनाएको छ । विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर रहेकोे थियो ।
नयाँ तथ्यांकअनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।
यसैबीच नेपाल र भारतबीच विवादित क्षेत्र दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या जनगणना-२०७८ मा समेटिएको छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको पछिल्लो जनगणनामा सो भेगको जनसंख्या समेत समेटिएको छ । यद्यपि सो क्षेत्रमा कति जनसंख्या छ भन्नेबारे भने विस्तृत प्रतिवेदनमा समेटिने जनाइएको छ ।
गणकहरु स्वयं स्थलगत नपुगे पनि वैकल्पिक रूपमा वडास्तरबाट गरिएको जनगणनाका आधारमा ती क्षेत्रमा जनगणना गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.