फागुन १ गतेबाट ‘खप्तड-बडीमालिका हेली टुर’ सञ्चालन हुने
माघ १७, डोटी ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड र बडीमालिकाका लागि यो वर्ष पनि ‘हेली टुर’ सञ्चालन हुने भएको छ । डोटीको झिग्रानामा रहेको खप्तड होमस्टेका संचालक दिपक बहादुर खड्काले आगामी फागुन १ गतेबाट १० गते सम्म ‘हेली टुर’ प्याकेज शुरु गरिने बताए । खड्काले गत वर्ष पनि ‘हेली टुर’ प्याकेज सञ्चालनमा ल्याएका थिए ।
‘हेली टुर’ प्याकेज बारे सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै खड्काले दिपायल देखि खप्तड, दिपायलदेखि बडीमालिका, झिंग्राना देखि खप्तड, बडीमालिका र अछामको साँफेबगरदेखि खप्तड, बडीमालिका हेलिकोप्टरमा दोहोरो यात्रा उडान गर्न सकिने जनाइएको छ।
खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्रा.लि. डोटीले माउन्टेन हेलिकोप्टरसँगको सहकार्यमा ‘हेली टुर’ संचालन गर्न लागेको जनाइएको छ ।
गत वर्ष माघमै शुरूवात गरिएको ‘हेली टुर’मा १ सय ३५ जनाले खप्तड र बडीमालिकाको भ्रमण अवलोकन गरेका थिए । कोरोना महामारीको तेस्रो चरणको सङ्क्रमण फैलिएका कारण यस वर्ष ढिलो गरि ‘हेली टुर’ संचालनमा ल्याउन लागिएको र १० दिनमा करिब ३ सय ५० जना पर्यटकलाई
‘हेली टुर’मा भ्रमण अवलोकन गराउने लक्ष्य राखिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सरकारी तवरबाट यस्तो खालका प्याकेज संचालन हुन नसके पनि निजी क्षेत्रबाट भएका यस ‘हेली टुर’ प्याकेजले पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण भुमिका खेलेको भन्दै स्थानीय सरोकारवालाले प्रशंसा गरेका छन् ।
विस्तृत प्याकेज बारे बुझ्न यो लिङ्क क्लिक गरेर हेर्नुहोला ।
https://m.facebook.com/story.php?story_fbid=4964843800205408&id=100000395129000