स्थानीय तहका उम्मेदवार सिफारिस र निर्णय गर्ने यस्तो छ एमालेको मापदण्ड
चैत्र २, डोटी ।
नेकपा एमालेले स्थानीय तहको निर्वाचनको उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड तोकेको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले उम्मदेवार सिफारिसको मापदण्ड तय गरेको हो ।
वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने मापदण्ड बनाइएको छ । त्यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उप-प्रमुखको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले निर्णय लिने मापदण्ड बनाइएको छ ।
त्यस्तै महानगरपालिका र उप-महानगरपालिकाका प्रमुख र उप-प्रमुखको टिकट केन्द्रबाट दिइने र त्यसको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने मापदण्ड बनाइएको एमालेले जनाएको छ ।
एमालेको सचिवालय बैठकमा स्थानीय चुनावकै बारेमा केन्द्रित रहेर छलफल भएको र अब केन्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदनसहित दिशा निर्देशन गर्ने गुरुङले बताए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चुनावी रणनीति बनाउन एमालेले चैत ७ गते पोलिटव्यूरो तथा चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस्तै चैत १३ गते स्थायी कमिटी बैठक बस्ने जनाइएको छ ।