“मुख्यमन्त्री भट्ट निवासमा स्वागत गरिएको फोटोलाई माओवादी प्रवेश गरेको भनी बदनाम गरियो” – वडा अध्यक्ष खड्का

1,329

चैत्र १३, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं एमाले नेता बहादुर खड्काले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो निवासमा टीका माला लाएर स्वागत गरेको फोटो देखाएर माओवादी प्रवेश गरेको भनी आफ्नो बदनाम गरेको भन्दै आपत्ति जनाएका छन् ।
पार्टी कामको शिलशिलामा डोटी आएका मुख्यमन्त्री भट्टसङ्ग आफ्नो वडाको ‘देउसिने सिचाइ कुलो’ निर्माणका लागि बजेट माग गर्दै शनिबार साँझ मुख्यमन्त्री भट्टको निवास राजपुर गएको बेला निवासमा स्वागत गरेर लगाएको टीका माला सहितको फोटो देखाएर छलकपटपूर्वक बदनाम गरेको भन्दै वडा अध्यक्ष खड्काले आइतबार विज्ञप्ती जारी गर्दै खण्डन गरेका छन् ।
सोही टीका माला लगाएको फोटो माओवादी केन्द्रका कार्यकर्ताले भ्रमपूर्ण समाचार सहित फेसबुकमा राखेर पार्टी प्रवेश गरेको भन्दै गलत प्रचार गरेकोमा वडा अध्यक्ष खड्काले पत्रकार सम्मेलन आयोजना गरेरै निन्दा सहित खण्डन गरेका हुन् ।
आफू लगाएत आफ्नो घरपरिवारले समेत माओवादी प्रवेश गरेको भनि झुटो प्रचारवाजी गरिएको हुँदा आफू लगाएत सपरिवार नेकपा एमालेमै रहेको खड्काले स्पष्ट पारेका छन् ।
एमाले डोटीका अध्यक्ष चक्र मल्ल, उपाध्यक्ष एवं दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी, सचिव शेर बहादुर मल्ल, एमाले दिपायल सिलगढी नगर कमिटी अध्यक्ष एवं वडा नम्बर ७ का वडा अध्यक्ष कर्ण बहादुर बिष्ट, वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष बोहरा, वडा नम्बर ९ का वडा अध्यक्ष धर्म बहादुर साउँद लगाएत जिल्ला तहका नेता कार्यकर्ता समेतको उपस्थितिमा उनलेे पत्रकार सम्मेलन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.