डोटीको जोरायलमा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि ८ बुँदे प्रतिवद्धता जारी
चैत्र १४, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा बालमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि ८ बुँदे प्रतिवद्धता जारी गरिएको छ ।
युनिसेफको सहयोगमा जोरायल गाउँपालिकाले गाउँकार्यपालिका र सरोकारवालाहरुका लागि आयोजना गरेको दुइ दिने अभिमूखिकरण कार्यक्रमबाट उक्त प्रतिवद्धता जारी गरिएको हो ।

जसअन्तरगत जोरायल गाउँपालिकाको एकीकृत बालबालिका प्रोफाईल तयार गर्ने, गाउँपालिकाको एकीकृत बालमैत्री स्थानीय योजना तयार गर्ने, गाउँपालिकाको कूल पूजीँगत बजेटको कम्तिमा १५ प्रतिशत बजेट र अन्य सबै साझेदार संस्थाहरुको निश्चित बजेट बालबालिकालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमका लागि विनियोजन गर्ने र गाउँपालिकाको एकीकृत लगानी योजना तयार गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
यस्तै बस्तीस्तरको योजना तर्जुमा प्रक्रियादेखि नै बालबालिका सम्बन्धी आयोजना तथा कार्यक्रमहरुमा छलफल, प्राथमिकिकरण र छनौट गर्ने कार्यलाई संस्थागत गर्ने, स्थानीय स्तरका विकास प्रक्रियामा बालवालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, तयार गरेको बालमैत्री योजना कार्यान्वयन गरी बालमैत्री स्थानीय शासनका निर्धारित नतिजा तथा सूचकहरु प्राप्त गर्ने, आगामि वर्षभित्रमा गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने पनि प्रतिवद्धता जनाईएको छ ।

यसैगरी बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यहरुको अनुगमन, मुल्यांकन, समीक्षा गर्ने र नियमित रुपमा बालबालिका सम्बन्धी स्थिती पत्र सार्वजनिक गर्ने पनि स्थानीय जनप्रतिनिधी र सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।
विशेषतः बालमैत्री स्थानीय शासनका विभिन्न ५१ वटा सूचकहरु र गाउँपालिकाले गर्नसक्ने बालमैत्री गाउँपालिका घोषणाका लागि उक्त ८ बुँदे प्रतिवद्धता जारी गरिएको सिसिडिआरआर कार्यक्रमका कार्यक्रम अधिकृत डम्बर बोहराले जानकारी दिए ।
जोरायललाई बालमैत्री गाउँपालिका घोषणा गर्न गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षतामा विभिन्न सरोकारवालाहरु समेटिएको २८ सदस्यीय बालमैत्री स्थानीय शासन समिति पनि गठन गरिएको छ ।

दुइ दिने अभिमूखिकरण कार्यक्रमको सहजिकरण विकिरण गौतमले गरेका थिए ।
युनिसेफ नेपालले जोरायल गाउँपालिकासँगको साझेदारीमा बाल केन्द्रित विपद् जोखिम न्यूनिकरण, खानेपानी सरसफाई तथा स्वच्छता, बाल संरक्षण, बालमैत्री स्थानीय शासन कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।