प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक

821

जेठ २६, डोटी ।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा गंगादशहरा मेलाको रौनक छाएको छ ।
प्रत्येक वर्ष जेठ शुक्ल दशमी अर्थात गंगादशहराको दिन खप्तडमा मेला लाग्ने गर्दछ ।
खप्तडमा लाग्ने गंगादशहरा मेला (जात्रा) मा हिन्दु धर्मालम्बीहरु सङ्गै स्वदेशी तथा विदेशी पर्यटकहरुको भिड लागेपछि यस क्षेत्रमा निकै रौनक छाएको छ ।
खप्तडमा रहेको त्रिवेणीमा स्नान गरेपछि सबै पापहरु नाश हुने र मनले चिताएको पूरा हुने धार्मिक विश्वास गरिन्छ । गंगादशहरा मेलामा विभिन्न संघ संस्थाहरुले खप्तडमा भलिबल, घोडा दौड र सुदूरपश्चिमेली डेउडा गीत प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।
यस वर्ष गंगादशहरा पर्वको अवसर पारेर डोटी उद्योग वाणिज्य संघ, नेपाली सेनाको श्री भैरव प्रसाद गण सिलगढी र श्री नं. ५ बाहिनी अड्डा राजपुर डोटीले खप्तड – शैलेश्वरी म्याराथन २०७९” प्रतियोगिताको आयोजना गर्न लागेका छन् ।
खप्तड देखि डोटीको सिलगढीमा अवस्थित शैलेश्वरी मन्दिर सम्म ३२ किलोमीटरको म्याराथन दौड प्रतियोगिता हुने भैरव प्रसाद गणका प्रमुख सेनानी जनमत कार्कीले बताए ।
जेठ २५ र २६ गते भलिबल प्रतियोगिता, २७ गते डेउडा प्रतियोगिता हुने र जेठ २८ गते म्याराथन प्रतियोगिता हुने कार्यतालिका छ ।
त्यस्तै खप्तडको खुला चौरमा स्वच्छ वातावरणमा योग गराउन योग गुरु डा. चिन्तामणि योगीलाई पनि आमन्त्रण गरिएको बताइएको छ ।
खप्तडको गंगादशहरा मेलामा हजारौं तीर्थालु तथा पर्यटकहरु खप्तड पुग्ने गर्दछन ।
सुदूरपश्चिम प्रदेशका पहाडी चार जिल्लाहरु डोटी, बाजुरा, बझाङ्ग र अछाम सिमामा पर्ने खप्तड विश्व प्रसिद्ध पर्यटकीय क्षेत्र हो ।
खप्तडलाई भू-स्वर्गका रुपमा समेत चिनिन्छ । जहाँ ठुला-ठुला पाटनहरु, हिउँदमा सेताम्मे हिउँ र बसन्त ऋतुमा रंगीविरंगी फूलले ढकमक्क हुने गर्दछ । २२५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको खप्तड समुद्र सतहदेखि ३ हजार ५ सय मिटर सम्मको उचाईमा छ । जहाँ ५ सय ६७ थरिका वनस्पतीहरु र २ सय ६० भन्दापनि बढी चराचुरुंगीहरु पाईन्छन् । त्यस्तै खस्रेभ्यागुता र बझांगे पाहा, बाघबुट्टे निगांलो, विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाइन्छ ।
खप्तडमा २२ वटा पाटन र ५२ झोती रहेको छन् भने खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह (खप्तड ताल), शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, माइका थान, छिन्तेढुंगा, केदारढुंगा, डाँफेकोट, सीता पाइला, घोडादाउने पाटन, नाचन्थली, बलेमेला, पाटन जेठी बहुरानी ढुंगा, भलाउने पाटन जस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरु पर्यटकका लागी आकर्षण हुन् ।
पौराणिक कालमा सिद्घ तथा ऋषिमुनीहरुले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा ‘खेचरादी’ पर्वतका रुपमा समेत वर्णन गरिएको छ । खेचरादी पर्वतको नाम बिस्तारै खप्तड रहन गएको भन्ने जानकारहरु बताउँछन्। पौराणिक कालमा कौरव र पाण्डवको युद्घ हुँदा पाण्डवहरुले चौध वर्ष वनबास बस्दा केही समय खप्तडमा बिताएको भन्ने किम्वदन्ती रहेको छ ।
खप्तडमा दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट थुम्का (झोती) बनेका भन्ने पनि किम्वदन्ती रहेको छ ।
खप्तड क्षेत्र खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तडलाई वि.सं. २०४२ सालमा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.