डोटीको जोरायलमा सञ्चालित सिसिडिआरआर कार्यक्रम गाउँपालिकालाई हस्तान्तरण
असार १२, डोटी ।
डोटीको जोरायल गाउँपालिकामा सञ्चालन हुँदै आएको बाल केन्द्रित विपद जोखिम न्यूनीकरण (सिसिडिआरआर) कार्यक्रम आइतबार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
जोरायल गाउँपालिका र युनिसेफ नेपालको साझेदारीमा सन् २०१८ देखि २०२२ सम्म सञ्चालन हुँदै आएको उक्त कार्यक्रम युनिसेफ नेपाल, नेपालगन्जका योजना तथा विपद व्यवस्थापन कार्यक्रम अधिकृत राजेश सारुमगरले जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझालाई हस्तान्तरण गरेका हुन् ।
सिसिडिआरआर कार्यक्रम अन्तरगत गाउँपालिका विपद् तथा जलवायु उत्थानशील योजना, विपद पूर्व तयारी तथा प्रतिकार्य योजना, गाउँपालिकाको विपद प्रोफाइल निर्माण, चट्याङ प्रतिरोधी डिभाइस जडान, विपद जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखकरण, जोखिम नक्शांकन लगायतका कार्य गरिएको सिसिडिआरआर कार्यक्रमका कार्यक्रम अधिकृत डम्बर बोहराले नजर अनलाइनलाई जानकारी दिए ।
परियोजना हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष ओझाले सिसिडिआरआर कार्यक्रमले गाउँपालिकामा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै आगामी दिनमा यसलाई पालिकाले निरन्तरता दिएर अघि बढ्ने बताए ।
जोरायल गाउँपालिका, सामाजिक विकास समिति संयोजक बीरबहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका विभिन्न जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेकोे थियो ।